सिमरा,मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलवार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।
गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक पुगेको छ । मच्छिन्द्रको जीतमा सब्स्टीच्युट खेलाडी अनिल रानामगरले निर्णायक गोल गरे । प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटसम्म बेञ्चमा राखेका अनिल सविन गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए ।
भरतपुर विरुद्धको महत्वपुर्ण खेलमा मैदान प्रवेश गरेको तेश्रो मिनटमै गोलको खडेरी तोड्दै अनिलले मच्छिन्दलाई रोमाञ्चक जित दिलाए । खेलको ६८ औं मिनटमा अनिलले गरेको गोलनै निर्णायक बन्यो ।मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए ।
पहिलो र दोश्रो हाफमा भरतपुरले निकै आकर्षक अवसरहरु बनाएको थियो । अधिकाँश समय खेल आफ्नो नियन्त्रणमा राखेपनि फिनिसिङ लाईन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरीयो ।खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार नगद र ट्रफि प्रदान गरे ।बुधबार दोश्रो सेमीफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमराले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।


















