हेटौंडाः साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविता कृति ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ शनिबार हेटौंडामा सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कृति विमोचन कार्यक्रम भएको हो । संस्थाका संयोजक निमेष निखिलको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रमका अतिथिहरुसहित कृतिकार शान्ति प्रियवन्दना उहाँकी आमा मैना सुवेदी र छोरा दृष्टान्त विडारीले एकसाथ कृति विमोचन गरेका थिए ।
सानै उमेर देखि कविता लेख्न थाल्नु भएको प्रियवन्दनाको पहिलो रचना २०५४ साल मा प्रकाशित भएको थियो । लामो समय कविता लेखिरहनु भएकी प्रियवन्दनाले २५ वर्षपछि पहिलो कृति तयार पार्नुभएको हो । कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार सुवास खनालले जानकारी गराउनुभएको थियो । कृतिमाथि डा। विन्दु शर्माले समिक्षा गर्दै शान्तिका कविताका केन्द्रीय पक्ष भनेको सिमान्तकृत बर्गका दुःख पीडा नै हो र कविले आफ्ना कविताहरुमा अलङ्कारको बोझ नथपेको र प्रतिकात्मक तिर नगएको बताउनु भएको थियो । अर्का समिक्षक प्राध्यापक घनश्याम घिमिरेले आज हाम्रो व्यवहार, मान्यताहरु, कतिपय विश्वासहरु माथि विश्वास कम अन्धविश्वास ज्यादा भइरहेको सन्धर्वमा आज हाम्रो व्यवहार देखेर कतै एक्काइसौं शताब्दी नै जिल खाइरहेको त छैन भन्ने गम्भीर प्रश्नहरुको सङ्गालो नै ूजिल खाइरहेको एक्काइसौं शताब्दीू हो भन्ने बताउनु भयो । शान्तिका कविताहरु प्रगतिवादी र नारीवादी चिन्तनसँग सम्बन्धित छन् र प्रगतिवाद भित्र पनि बर्गीय चिन्तन र विद्रोहको चिन्तन बढी उठान भएको छ भन्ने उहाँले बताउनु भयो ।
आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त कुरा राख्नुहुँदै कृतिकार शान्ति प्रियवन्दनाले कविता संग्रहमा समावेश रहेको ‘जवाफ पाउँ सरदार’ शीर्षकको कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि कुन्ता शर्माले कवि प्रियवन्दनाका कवितामा पूर्ण कथा रहेको बताउनुभएको थियो ।
रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कविता संग्रहमा ३५ वटा कविताहरु समेटिएका छन् ।

Leave a Reply