सिमरा – बाराको सिमरामा कार्तिक पहिलो सातादेखि प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रानन कप फुटबल प्रतियोगिता हुने भएको छ । नवजनजागृति भेट्रान क्लबले कार्तिक ७ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका २० टिमले सहभागिता जनाउनेछन् । कार्तिक १० गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभागीय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगञ्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने संयोजक एवम् क्लबका सचिव राम पाठकले जानकारी दिनुभयो ।

यसैगरी भारतको पटनास्थित भेट्रान टिमले सहभागिता जनाउन इच्छुक देखाएको हुँदा समन्वय भईरहेको पाठकले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई कलैयास्थित क्रियटिभ वल्र्ड डिजिटल प्रा.लि.ले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजक क्लब र क्रियटिभ वल्र्ड डिजिटलबीच प्रतियोगितामा सहकार्य गर्ने गरी सम्झौता समेत भएको छ । सम्झौतापत्रमा क्रियटिभ वल्र्डका अध्यक्ष कमलबाबु चौधरी र प्रतियोगिता संयोजक पाठकले हस्ताक्षर गरेका छन् ।

क्लबले यसअघि प्रतियोगिताको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक डिजिटल वल्र्डका अध्यक्ष चौधरीले भेट्रान प्रतियोगितामा सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको बताउनुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठले भेट्रान फुटबललाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । ४० वर्ष पूरा गरेका व्यक्तिले खेल्ने यस खेलले समाजको हरेक पक्षलाई फाइदा पुग्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्न जरुरी रहेको उहाँको भनाई थियो । 

Leave a Reply