सिमरा,वीरगञ्जका एक पुरुषको पेटबाट सिसाको बोतल निकालिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका ४० वर्षीय शिवनारायण साहको पेटबाट एउटा सिसाको बोतल निकालिएको हो ।
असोज १३ गते बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएका साहको पेटको एक्सरे गर्दा सिसाको बोतल देखिएको थियो । चिकित्सकको टोलीले तत्काल पेटको शल्यक्रिया गरी आन्द्रा काटेर उक्त बोतल निकालेका हुन् ।करिब दुई हप्ता अस्पतालमा भर्ना रहेका साह गत मंगलवार घर फर्किएका छन् । पेटमा सिसाको बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका निरीक्षक श्यामकुमार बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

















