वीरगञ्ज,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दरबार हत्याकाण्डबारे छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभएको छ ।राप्रपा नेपालको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुग्नुभएका अध्यक्ष थापाले वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई चुनौती दिनुभएको हो ।

दरबार हत्याकाण्डलाई लिएर राजपरिवारप्रति जनतामा धेरै भ्रम छर्ने काम भइरहेको उहाँको भनाई छ । यो भ्रम बेलाबेलामा सबै दल आफ्नो स्वार्थ अनुसार गर्दै आइरहेको थापाले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘त्यसकारण म प्रधानमन्त्रीलाई चुनौती दिँदै छु हिम्मत छ भने एक पटक स्वतन्त्र र निष्पक्ष उच्च न्यायिक छानबिन समिति गठन होस, त्यसपछि सबै विषय छर्लङ्ग हुन्छ ।’दरबार हत्याकाण्डबारे ‘अनर्गल’ आरोप लगाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार राजसंस्थाको पक्षमा जब–जब जनसमर्थन आउँछ, तबतब यस्ता भ्रम फैलाउने काम गरिन्छ ।

आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि राजनीति दलहरूबाट राज संस्थाको बदनाम गराउने काम भइरहेको टिप्पणी गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले यो विषयलाई राजनीतिक स्वार्थको विषय बनाइनु उचित नरहेको बताउनुभयो ।त्यसकारण यो सबै समस्याको सधैँको समाधानका लागि उच्च न्यायिक छानबिन समितिको नै जरुरी रहेको उहाँको सुझाव छ । ‘प्रधानमन्त्रीज्यूबाट यो काम भइदियो भने जनताको अगाडि पनि सत्यतथ्य आउँछ,’ उहाँले भन्नुभयो ।

Leave a Reply