कलैया,बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको घटना सार्वजनिक भएको छ ।पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले सामाजिक सञ्जाल फेसबुकमा सोमवार स्टाटस लेखेर आफ्नो नगरपालिकाका एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको भन्दै कडा कारबाहीको माग गर्नुभएको छ ।
नगर प्रमुख जैसवारले लेख्नुभएको छ– ‘एक भारतीय नागरिकले आफ्नो ससुरा नवल रायलाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन । भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडईला गाँउ निवासी रामजन्म यादवको छोरा ३५ बर्षीय रामकैलाश यादवले साविक गाविस बेलदारी वडा नम्बर ८ बाट नेपाली नागरिताको प्रमाणपत्र लिएका हुन ।’ उहाँले नागरिकता टोलीमार्फत कैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएकाले छानबिन गरी दोषिमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारासंग माग पनि गर्नुभएको छ ।
रामकैलाशले २०६३ फागुन २६ गते गाउँमा आएको नागरिकता वितरण टोलीलाई झुटो विवरण पेस गरेर बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए । नागरिकता वितरण टोली गाउँमा पुगेको बखत तत्कालिन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा उनले ३३०४९÷५०८३ नम्बरको नागरिकता लिएका हुन ।
रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको पाइएपछि स्थानीयले नगर प्रमुख सिंहसंग गुनासो गरेका थिए । नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि नगर प्रमुख सिंहले दोषिमाथि कारबाहीको माग गर्दै समाजिक सञ्जालमा घटना सार्वजनिक गर्नुभएको हो ।
रामकैलाशले आफ्ना ससुरा नवल रायलाई नक्कली बुवा बनाएर जालसाजीको आधारमा नागरिकता प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।जिल्ला प्रशासन कार्यालय, बाराले भने अहिलेसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया वा छानबिन प्रक्रिया शुरु नगरेको स्थानीयले बताएका छन । सौजन्य तस्बिर



















