राजन कुमार बनिया
पोखरिया,मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत उत्तर प्रसूति स्याहार घरभेट वार्षिक समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी बुधवार पर्साको कालिकामाई गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।गोष्ठी कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो। यस अवसरमा पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा प्रसूति पछिको (पीएनसी) सेवा प्रदान गर्दा देखिएका समस्याहरूको समाधानबारे विस्तृत छलफल गरिएको थियो। साथै, चालु आर्थिक वर्ष २०८०-८१ मा पीएनसी सेवा प्रवाह गर्दा देखिएका चुनौतीहरूको समीक्षासहित आगामी आर्थिक वर्ष २०८१-८२ को फागुनसम्मका लागि पीएनसी संचालन निर्देशिका अनुरूप अनुसूचीहरू तयार गरी प्रस्तुत गरिएको थियो।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य नर्स अधिकृत मिरा यादवले गोष्ठीको सहजीकरण गर्दै पीएनसी सेवामा थप सुधारका लागि आवश्यक कदमबारे जानकारी गराउनुभएको थियो। उहाँले प्रोजेक्टरमार्फत पीएनसी सेवासम्बन्धी विशेष जानकारी प्रदान गर्दै सेवा प्रदायकहरूलाई उत्प्रेरित गर्नुभएको थियो।गोष्ठीमा पीएनसी सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य शाखाबाट आवश्यक सामग्रीहरू वितरण गरिएको थियो, जसमा झोला, बीपी सेट, सर्जिकल सेट, टर्चलाइट, उचाइ नाप्ने टेप, छाता, तथा पीएनसी जोब सेट रहेका थिए।
कार्यक्रम गाउँपालिका अध्यक्ष वशिष्ठकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य नर्स अधिकृत मिरा यादव, स्वास्थ्य चौकीका प्रमुख जगदिश महतो, निरन्जन चौरसिया, रामेश्वर कोईरी, महेन्द्र चौरसिया, सन्तप्रसाद चौरसियासहित पालिका अन्तर्गतका पाँचै वडाका स्वास्थ्य संस्थाबाट प्रतिनिधित्व गर्ने नर्सिङ कर्मचारीहरू सहभागी थिए।यस वार्षिक समीक्षात्मक गोष्ठीबाट पीएनसी सेवामा सुधारका नयाँ योजना निर्माण गर्न सफल भएको आयोजक समितिले जनाएको छ।

















