रौतहट,रौतहटको कटहरिया नगरपालिकामा मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको मिलिमतोमा करोडौं रकम अनियमितता गर्न चलखेल शुरु गरेको भन्दै उपप्रमुख रितादेबी यादवसहितका जनप्रतिनिधिहरूले पालिका कार्यालयमा गरेको तालाबन्दी शनिवार पाँचौँ दिन पनि जारी रहेको छ ।लगातार ४ दिनसम्म नगरपालिका कार्यालय बन्द हुँदा सेवाग्राही मार्कामा परेका छन् । असन्तुष्ट पक्षसँग वार्ता गरेर तालाबन्दी खोलाउन मेयर अजयप्रकाश जैसवालले कुनै पहल नगरेको उपमेयर यादवले गुनासो गर्नुभएको छ ।

उपमेयर यादवको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले गत मंगलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा तालाबन्दी भएको थियो । जनप्रतिनिधिहरूले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन ।मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने योजना बनाएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन । मेयर जैसवालको निर्देशनमा गत मङ्सिर २० गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा करारका कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन । मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको थियो ।

तर पूर्वसूचना अनुसार डाकिएको पुस ८ गतेको बैठकमा मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत जोशी पनि नगरपालिका कार्यालयमा अनुपस्थित रहेका थिए ।मेयर जैसवालको इसारामा गत मङ्सिर २० गते स्थगित भएको भनिएको बैठकको निर्णय पुस्तिकामा नै प्रमुख प्रशासकीय अधिकृत जोशीले दर्जनौँ प्रस्तावमा निर्णय लेखेर कार्यपालिका सदस्यहरूको घर घरमा घुमाएर हस्ताक्षर गराउने कार्य शुरु भएपछि कार्यालयमा कारण तालाबन्दी गर्नुपरेको उपमेयर यादवले जानकारी दिनुभएको छ ।

मेयर जैसवालले केही कार्यपालिका सदस्यहरूलाई प्रलोभनमा पारेर माइन्युट बुकमा हस्ताक्षर गराइरहेको उनीहरूले दाबी छ । कटहरियाको ९ वटै वडामा खटिरहेका झन्डै ५० जना करारका कर्मचारीहरूको २० महिनासम्मको बक्यौता तलब भुक्तानीपछि मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मङ्सिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर गरिनुपर्ने माग असन्तुष्ट पक्षले अघि सारेको छ ।उपमेयर यादवको नेतृत्वमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो, २ का वडा अध्यक्ष हरेन्द्र साह, ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी, ७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको टोलीले मेयर र प्रशासकीय अधिकृतको क्रियाकलापको विरोध गर्दै नगरपालिका कार्यालयको विभिन्न शाखामा तालाबन्दी गरेको थियो ।

Leave a Reply