सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर– ४ मा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक सहित ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ । शनिबार साँझ वीरगन्ज ठोरी हुलाकी सडक खण्डमा पर्ने ठोरी ४ ,गोपीवस्तीमा पैदल हिँडिरहेका स्थानीय ४ जना युवाहरुलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । साँझ विजयवस्तीबाट जीराभवानी गाउँपालिका वडा नम्बर –३, नौकाटोला जाँदै गरेका नौकाटोलाका राम सिंह राय थारु सवार ग९प ९५८७ नम्बरको मोटरसाईलले ठक्कर दिँदा गोपीवस्तीका अभिशेक गोले, मधु गोले, सन्जय लामा र आनन्द परियार घाइते भएका थिए । घाइते मध्ये अभिशेक गोले र मधु गोलेको टाउको र शरीरमा गम्भीर चोट लागेको र वीरगन्जस्थित एल एस न्युरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय किशोर अभिशेक गोलेको निधन भएको विजयवस्ती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मिनबहादुर रमौलीले जानकारी दिनुभयो । अर्का घाइते मधु लामाको गम्भीर अवस्थामा उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । यस्तै घाइतेहरु सन्जय लामा र आनन्द परियारको खुट्टा र ढाडमा चोट लागेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाई छ । ठक्कर दिने मोटरसाईकल चालक थारुको टाउकोमा चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरी सहायक निरीक्षक रमौलीले जानकारी दिनुभयो । वीरगन्ज ठोरी हुलाकी सडक खण्डमा कालोपत्रे भएयता ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको छ । धेरै जसो दुर्घटना मादक पदार्थ सेवन गरेर तिव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको छ ।
यसैबीच चितवनमा गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो । दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर छ । लमजुङको दोर्जी गाउँपालिका–३ बस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।