काठमाण्डौ, ११ असोज । एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अमेरिकी व्हिसलब्लोर एडवर्डस्नोडेन रुसी नागरिकता दिने निर्देशनमा हस्ताक्षर गरेका छन् । ३९ वर्षिय स्नोडेन पूर्वअमेरिकी गुप्तचर कन्ट्रयाक्टर हुन्, जो २०१३ देखि अमेरिकी कारबाहीबाट बच्न रसियामा लुकेर बस्दै आएका थिए ।
स्नोडेनले ब्रिटिस पत्रिका गार्डियनको सहयोगमा गरेको गोप्य फाइल खुलासामा अमेरिकाको नेसनल सेकुरिटी एजेन्सीले देशभित्र र विदेशमा संचालन गर्ने गरेका विशाल निगरानी कार्यबारे उल्लेख थियो । सन् २०२० मा, स्नोडेनले उनी र उनकी तत्कालीन गर्भवती पत्नीले रुसी नागरिकताको लागि आवेदन दिन लागेको बताएका थिए ।
रुसले उनलाई त्यही वर्ष स्थायी बसोबासको अधिकार दिएको थियो, जसले उनलाई रूसी नागरिकता प्राप्त गर्ने बाटो खुला गरेको थियो । पुटिनले नागरिकता दिएका ७२ जना विदेशी नागरिकको सूचीमा स्नोडेनको नाम पनि रहेको छ । दुई वर्षको पर्खाइ र लगभग दश वर्षको रुसी बसाइपछि उनले नागरिकता पाएका हुन् । स्नोडेनलाई नागरिकता दिइएपछि रुसी सामाजिक सञ्जालमा उनलाई पनि देशव्यापी सैन्य परिचालन अभियान अन्तरगत युक्रेनमा लड्न पठाइने त छैन भन्ने व्य·्य गरिएको थियो । स्नोडेनका रुसी वकिलले भने स्नोडेनले विगतमा रुसी सेनामा काम नगरेकाले उनलाई युद्धमा बोलाउन नमिल्ने बताएका छन् ।
साथै उनले स्नोडेनकी श्रीमती लिन्डसे मिल्सले पनि रुसी नागरिकताका लागि आवेदन दिएकी बताएका छन् । ह्विस्टलब्लोअरको रुपमा स्नोडेन खासै धेरै बाहिर चर्चामा आउने काम गर्दैनन् । उनले कहिलेकाही मस्कोमा आफ्नो परिवारको फोटोहरू पोस्ट गर्छन् । उनले सन् २०१९ मा निष्पक्ष सुनुवाइको ग्यारेन्टी भएमा आफू अमेरिका फर्कन तयार रहेको बताए ।
विगतमा क्रेमलिनको मानवअधिकार रेकर्डको आलोचना गर्ने गरेका स्नोडेनले युक्रेनमा भएको आक्रमणको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । युद्धअघि, उनले बारम्बार रूसले युद्ध सुरु गर्नसक्ने आशंका व्यक्त गरेका थिए ।

















