सिम्रौनगढ,युवा तथा खेलकुद पूर्वमन्त्री एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले सिम्रौनगढ क्षेत्रलाई नेपालको सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।सिम्रौनगढमा विणा फाउण्डेशनले आयोजना गरेको ‘ऐतिहासिक सिम्रौनगढ समारोह’ कार्यक्रमको शनीवारको सत्रमा बोल्दै पूर्वमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले सिम्रौनगढलाई विश्वसम्पदा सूचीमा समावेश गर्नुभन्दा पहिलो देशकै सांस्कृतिक सम्पदाको सूचिमा समावेश गर्नुपर्ने बताउनुभयो ।

‘विश्व सम्पदा सूचिमा समावेश गर्नुपर्ने माग पनि उठेको छ, उहाँले भन्नुभयो, यसको लागि मापदण्ड पनि पुगेको हुनुपर्छ तर त्योभन्दा पहिले सिम्रौनगढलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्छ ।’
उहाँले यसको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार पारि सोही अनुसार विकास योजना कार्यान्वयन गर्नुपर्ने पनि बताउनुभएको छ । देशमा हाल रहेका ३ तहको सरकार मध्ये जुनसुकै सरकारले पनि यसको लागि काम गर्नसक्ने उहाँको भनाई थियो । ‘सांस्कृति केन्द्रको रुपमा विकास गर्ने कुरा ३ वटै तहका सरकारको अधिकार क्षेत्रभित्रको विषय हो, पूर्वमन्त्री पौडेलले भन्नुभयो, तर हालसम्म कसैले यसको लागि कुनै चासो देखाएका छैनन ।’ उहाँले सिम्रौनगढको विकासको लागि डिपिआर निर्माणको लागि समन्वय गर्न पालिकासंग आग्रह पनि गर्नुभयो ।

‘स्थानीय तहले समन्वय गर्ने पहल गरोस उहाँले भन्नुभयो, थप कामको लागि व्यक्तिगत रुपमा मैले पनि सहयोग गर्नेछु ।’
पूर्वमन्त्री पौडेलले आफूले सिम्रौनगढ क्षेत्रको विकासको लागि मधेस प्रदेश सरकार र संघीय सरकारसंग पनि आग्रह गर्दैआएको पनि सुनाउनुभयो ।सिम्रौनगढ क्षेत्रमा रहेको इसरा पोखरी र देवताल पोखरीको सौन्दर्यकरण र रानीवास दरवार तथा कङ्कालीमाई र रामजानकी मन्दिर लगायत अन्य पुरातात्विक क्षेत्रको संरक्षण र जीर्णोद्धारमा पनि जोड दिनुभएको थियो ।सिम्रौनगढ क्षेत्रको इतिहास वैभवशाली भएपनि यसको विकासको लागि हालसम्म ठोस योजना तयार पारेर काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आध्यात्मिक प्रवचक चैतन्य कृष्ण, युवा तथा खेलकुद पूर्वमन्त्री विराजभक्त श्रेष्ठ, अन्तर्राष्ट्रिय कानुन विद् अरुणकुमार सुवेदी, जिरोकिलो अभियानका अभियान्ता निर्मलमणी अधिकारी, सिम्रौनगढ अनुसन्धानकर्ता दिपेस सिंह, संझना वाग्लेलगायतले सिम्रौनगढको विकासको लागि विविध पक्षको बारेमा बोल्नुभएको थियो । आइतवारसम्म समापन हुने सो कार्यक्रममा इतिहासविद्, संस्कृतिविद्, राजनीतिककर्मी र अर्थविद्हरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

Leave a Reply