वीरगञ्ज,विभिन्न प्रलोभनमा पारेर एक १५ वर्षीय बालिकालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा एक युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।नेपालबाट भारततर्फ बालिकालाई लिएर जाँदै गरेको गोप्य सूचनाको आधारमा मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय बेतिया कार्यालयको ४७ औँ कोर, सशस्त्र सीमा बल रक्सौलको सयुँक्त टोलीले पर्साका मोहम्मद इम्तियाज मियालाई पक्राउ गरेको हो ।
भारतीय सीमा सुरक्षा बल ४७ मुख्यालयका प्रहरी निरीक्षक (ईन्सपेक्टर) मनोज शर्माकाअनुसार पक्राउ परेका मिया पर्सा जिल्लाको रतनपुर घोराईका बासिन्दा हुन् । मियाँका श्रीमती र तीन छोराछोरी छन् । मजदुरीका लागि बालिकाको गाउँमा पुगेका मियाँले प्रहरीसँग दिएको बयानअनुसार बालिकासँगको सम्बन्ध प्रगाढ भएपछि मियाँले विवाह गरेका हुन् । उनले सुरुमा बिरेन्द्र नाम बताए पनि प्रेममा परेपछि आफ्नो वास्तविक नाम मोहम्मद इम्तियाज मियाँ बताएको बालिकाले बताएकी छिन ।अपरिचित मजदुरले प्रलोभनमा पारेर आफ्नो छोरीलाई लिएर गएको बालिकाका अभिभावकको भनाई छ । नेपाल प्रहरीमा बालिकाका अभिभावकले किटानी जाहेरी पनि दिएका छन् । छोरी फर्किने आश मारिसकेका अभिभावकले रक्सौलमा उद्धार गरिएको खबर पाएपछि आश्चर्यचकित भएका थिए ।बलिकासहित पक्राउ परेका मियाँलाई भारतीय सुरक्षाकर्मीले इनर्वा प्रहरी चौकी वीरगञ्जको जिम्मा लगाएको छ । ईनर्वा प्रहरी चौकीका इन्चार्ज तेजप्रताप सिंहले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा बुझाइएको बताउनुभयो ।

















