नेपालमा कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लकडाउन गरेको डेढ महिना पुग्न लाग्दै छ । त्यसको एक साता अघिदेखि बन्द गरिएका शिक्षालयहरूसँग आबद्ध विद्यार्थी सर्वा्धिक प्रभावित भएका छन् । चैत ६ गतेबाट बन्द शिक्षालयका कारण परेको असर समीक्षा गर्ने बेला भएको छ । लकडाउनका कारण एसईई र कक्षा ११ र १२ को परीक्षा स्थगित भएकाले सिर्जित अन्योल एकातिर छ भने यस प्रकारको अवस्था कहिले अन्त्य हुने भन्ने परिदृश्य पनि प्रस्ट छैन ।सरकारले परीक्षा क्यालेन्डर बिग्रन नदिन अनलाइन पढाइ शुरू गर्न सबै विश्वविद्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, निजी विद्यालयको छाता संगठन प्याब्सन, एनप्याब्सनलगायतलाई आह्वान गरिसकेको छ । कतिले त अनलाइन कक्षा सञ्चालन गर्न थालि पनि सकेका छन् ।

 

 

 

माध्यमिक शिक्षाको जिम्मा लिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारी विद्यालयमा अनलाइनमार्फत पढाइ शुरू गर्न पोर्टल तयार गरिसकेको जनाएको छ । तर, कसरी पढाइ शुरू गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।हतारमा सबै संस्थाले अनलाइन शिक्षा भनेर रटान गरे तापनि बिनायोजना तयार गरेकाले कसरी पढाइ सञ्चालन गर्ने भन्ने विषय अन्योल छ । लकडाउन भएपछि बिदामा घर गएका विद्यार्थीलाई कसरी सम्पर्क गर्ने– कुनै निश्चित छैन ।

 

 

 

दूर दराजमा इन्टरनेटको अभाव रहेका विद्यालयमा कसरी अनलाइन कक्षा सञ्चालन हुन सक्छ ? विद्यार्थीको हातमा मोबाइल, ल्यापटप, ई–प्याडलगायत डिभाइसको व्यवस्थापन कसरी गर्ने ? लकडाउनका कारण महिनौंसम्म विद्यालय बन्द हुन सक्ने भएपछि शुरू गरेको अनलाइन शिक्षा प्रणालीको योजनासहित विकास गर्ने सरकारी लक्ष्य छ । अहिले शुरू गरेपछि दुई वर्षमा मुलुकको शिक्षा सूचना र प्रविधियुक्त हुने तर्क सरकारको छ । तर, सो तर्कले काम गर्छ कि गर्दैन हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

Leave a Reply