निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित स्कुल टोलको एक घरमा समातिएका ६ वटा गोबन सर्प शुक्रवार पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पु¥याएर छाडिएको छ ।स्थानीय युवक पुस्कल दहालले बिहीवार राति ५ वटा र शुत्रवार दिउसो समातेको एउटा गोबन सर्प पूर्वपश्चिम राजमार्गको १३ किलो नजिक निकुञ्जमा पर्ने पसाहा खोलाको भङ्गालोमा लगेर छोडिएको हो । दहालले बिहीवार राति समातेको र शुक्रवार दिउसो समातेको ६ वटा सर्प प्रहरीले निजगढबाट १० किमी पश्चिम निकुञ्जको जंगलमा पु¥याएर छोडेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

दहालले छिमेकी रामजी चौलागाईको गायत्री राइस मिलको पिढीमा राखिएको सिमेन्ट ईटाको थुप्रोबाट २ दिनमा ६ वटा गोबन सर्प समाएर प्लास्टिकको बोरामा राख्नुभएको थियो । प्रहरीले बिहान ५ वटा र दिउसो समातिएको अर्को एउटा सर्प पनि भ्यानमा राखेर आरक्षको जंगलमा पु¥याएको हो ।सर्प समाएको खबर फैलिएपछि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्ष सुर्यबहादुर थापामगर, सुरक्षाकर्मीलगायत सयौं सर्वसाधारण बिहान चौलागाईको राइस मिलमा पुगेका थिए । घटनास्थलमा पुग्नुभएका नगर प्रमुख पुरीले नगरपालिकाले दुर्लभ जिवजन्तुलाई मार्नुभन्दा उद्धार गरेर सुरक्षित बासस्थानमा पठाउने कार्य राम्रो भएको बताउनुभयो । उहाँले सर्प समात्ने थप सिप प्रदान गर्न नगरपालिका कार्यालयले दहाललार्ई तालिम र आवश्यक उपकरणको प्रबन्ध गर्ने पनि जानकारी दिनुभयो ।४१ वर्षिय दहालले यसअघि पनि गाउँघरमा फेला परेका सर्प समातेर उद्धार गर्दै आएको बताउनुभएको छ ।


















