आरके चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नियमित खोप सुदृढीकरण तथा पूर्ण खोप दिगोपनाको सुनिश्चितता गर्ने उद्देश्यले पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा चैत १३ गते स्वास्थ्य चौकी, सखुवाप्रसौनी वडा नम्बर २ मा सम्पन्न उक्त तालिमले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति, समन्वय र सहकार्यको विषयमा ध्यान केन्द्रित गरेको थियो ।
गाउँपालिका अध्यक्ष श्री जस्वन्त यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनस्वास्थ्य प्रमुख जयमोद ठाकुर प्रशिक्षकको रूपमा उपस्थित रहुनभएको थियो । तालिममा वडा नम्बर १ का अध्यक्ष बासुदेव महतो थारु, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतोसहित अन्य वडाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रशिक्षक जयमोद ठाकुरले नियमित खोप कार्यक्रमको महत्व, यसको प्रभावकारिता तथा स्थानीय तहको भूमिकाबारे प्रशिक्षण प्रदान गर्दै समुदायस्तरबाट आवश्यक समन्वय र सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।गाउँपालिका अध्यक्ष जस्वन्त यादवले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य गर्दै पालिकाभर शतप्रतिशत खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, स्वास्थ्य सेवाको पहुँचलाई थप सुदृढ बनाउने लक्ष्यसहित पालिका निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पार्नुभयो ।स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले उक्त तालिमले पालिकास्तरमा खोप समन्वय समितिको भूमिका अझ प्रभावकारी बनाउँदै खोप कार्यक्रमको सफल कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
















