जनकपुरधाम,मधेश प्रदेशको बजेट पुनर्लेखनसहित तीन बुँदे माग गर्दै चार दलका संसदीय दलका नेताहरुले संयुक्त रुपमा आइतवार मुख्यमन्त्री सतिसकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन ।मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८१–०८२ को पेश भएको बजेट त्रुटिपूर्ण भएको मुख्यमन्त्री र मन्त्रीहरु स्वयम्ले स्वीकार गरिसकेको दाबी गर्दै बजेट पुर्नलेखन गरी प्रदेश सभामा छलफल गराउन चार दलका नेताले माग गरेका हुन ।
मधेश प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक रानीकुमारी शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन बिच्छद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री सिंहलाई बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ– “आर्थिक वर्ष २०८१–०८२ को प्रदेश सभामा पेश भएको बजेट सन्दर्भमा यही असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री, अर्थमन्त्रीबाट प्राप्त जानकारी अनुसार पीएलएमबीआइएस ह्याकरहरुबाट ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविट गरिएको एवम् बजेट त्रुटिपूर्ण भएको मुख्यमन्त्री र मन्त्रीहरुबाट स्वीकार गरिसकेको अवस्था छ ।’बजेट त्रुटिपूर्ण रहेको स्वीकार गरिसकेको हुनाले सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन हुनुपर्ने र बजेट पुर्नलेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने तथा बजेट पुर्नलेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।