निजगढ – निजगढका युवाहरुले भोटेकोशी बाढी प्रभावितहरुको लागि संकलन गरेको राहत सामाग्री आज नुवाकोटमा नेपाली सेनाले संचालन गरेको होल्डिङ्ग सेन्टरमा पु¥याएर बुझाइएको छ ।
बाढी पीडितहरुको राहतको लागि निजगढका व्यवसायी र दाताहरुबाट संकलन गरिएको खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामाग्री बेलकोटस्थित श्री महादेव माविको होल्डिङ्ग सेन्टरमा नेपाली सेनाको ६ नम्बर बाहिनी बैरेनीका मेजर राजकुमार बस्नेतको रोहबरमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुनेश्वर नेपाललाई हस्तान्तरण गरिएको सामाजिक अभियान्ता दिपक सापकोटाले जानकारी दिनुभयो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक अभियान्ता सापकोटासहित साथी सहकार्य युवा क्लब निजगढका अध्यक्ष विपुल लामा र संचारकर्मी पवन भगिरथकोसमेत सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा युवाहरुले निजगढमा संकलन गरेको चामल, दाल, मिनरल वाटर, चाउचाउ, बिस्कुट, लत्ताकपडालगायत १ ट्रक राहत सामाग्री बोकेर टोली शनिवार राति बाढी प्रभावित क्षेत्रतर्फ लगेको थियो । अभियान्ता सापकोटाका अनुसार होल्डिङ्ग सेन्टरमा बुझाइएको राहात सामग्री नेपाली सेना र स्थानीय तहले बाढी प्रभावितहरुलाई वितरण गर्ने छ ।

















