काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ ।आइतवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उहाँले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।

एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।
अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो । विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकलाई छल्दै आएउनुभएको छ ।यता नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पद्म गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो ।‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा विगतमा संसद अवरोध भएका छन्,’ उहाँले भन्नुभएको छ, ‘विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीले छिटोभन्दा छिटो जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् प्रमुख सचेतक गिरीले भन्नुभयो ।


















