बसन्त लामा
सिगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित वनस्थली हाटबजारमा ट्रष्ट निर्माण कार्य सम्पन्न भएकोछ । केहि दिन पहिले शुरु गरिएको १६ कोठे सो ट्रस्टको उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न भएको हो ।सिगौल वडा नम्बर १ को वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को वार्षिक विनियोजित बजेटबाट हाटबजारमा ट्रष्ट निर्माण गरिएको हो ।
बजार सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि ट्रष्टको अभावमा व्यवसायीहरुले समस्या बेहोर्दैआएका थिए । स्थानीय बासिन्दा र हाटबजारमा सामान बेच्न आउने व्यापारीहरुले ट्रष्ट निर्माण गर्नको लागि वडा कार्यालयमा माग गरेको र सोही अनुरुप वडा कार्यालयले ९ लाख रुपैया छुट्याएपछि निर्माण कार्य शुरु गरिएको निर्माण समितिका अध्यक्ष हस्तबहादुर ब्लोनले बताउनुभयो ।
नगरपालिकाको आर्थिक सहयोगमा ट्रष्ट निर्माण गरिए पनि बजार क्षेत्रमा रहेका सुकेका र ढल्न लागेका रुखहरुले हाटबजार गर्न आउनेहरुमा जोखिम कायममै रहेको स्थानीयले बताएका छन । ट्रष्ट नजिकै धोत्रो परेको करम प्रजाति रुख रहेको र त्यो रुख कतिखेर ढलेर ट्रष्टलाई क्षेति पु¥याउने हो भन्ने चिन्ताको विषय बनेको उनीहरुको भनाई छ । त्यसैगरी विद्युतको तार समेत लत्रेर ट्रष्टको छानामा छुन लागेको र त्यसबाट पनि धनजनको क्षति हुनसक्ने उनीहरुको गुनासो छ ।
















