निजगढ,सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित शहिद चोकमा मंगलवारबाट रिले अनशन सुरु भएको छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन ।
फैसलाको विरोधमा १४ दिनअघिदेखि सडकमा चक्काजाम र धर्ना दिदै आएको सरोकार समिति र युवा विद्यार्थीहरुले मंगलवारको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका हुन ।
धर्नामा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने, पद्मबाहदुर भण्डारी, भोलाप्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खडकप्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भिमप्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ्ग, आशा चौलागाईलगायत १५ जना छन । धर्नाकारीहरुले अन्न र पानीसमेत नखाइ २४ घण्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि संगै अघि बढाउने बताउनुभयो । उहाँका अनुसार केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका शीर्ष नेताहरुसंग भेटघाट गरेर आफ्ना माग पेस गर्न काठमाण्डौंमा डेलिगेशन जाने तयारी गरेको पनि जानकारी दिनुृभयो ।