जनकपुरधाम,केन्द्राध्यक्षहरुको चयन गोला प्रथाबाट गरिनुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको माग पुरा नभएपछि प्रदेश सरकार परीक्षा प्रक्रियाबाट नै बाहिरिएको छ ।यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने उहाँले बताउनुभएको छ ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताउनुभएको हो ।“यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यावन्यन गर्नुपर्ने निर्णय भएको थियो तर त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीषाका कुनै क्रियाकलापमा सहभागी हुँदैनन”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।
आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक सङ्घ÷सङ्गठनले यसमा विरोध जनाएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नु परेको मुख्यमन्त्री सिंहले भन्नुभयो ।
“हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौँ तर प्रदेश सरकारकाले गरेको निर्णय कार्यावन्यन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो । मधेश प्रदेशका आठ जिल्लामा एसइईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीषाहलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने सङ्घीय सरकारले सदर गरेको जानकारी दिनुभयो ।
प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशको शिक्षालाई कमजोर बनाउनका लागि निर्णय लागू नभएको गुनासो गर्नुभयो । सङ्घीय सरकारबाट यहाँको शिक्षालाई समाप्त गर्ने खेल भएको उहाँको आरोप थियो ।
यसअघि मधेश प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामले प्रदेशभर तीन सय १२ परीक्षा केन्द्र रहेका र एक हजार दुई सय ३१ विद्यालयका ८८ हजार आठ सय ५८ परीक्षार्थी परीक्षामा सहभागी हुने जनाएको छ । ती केन्द्रमा खटिने कर्मचारीको सङ्ख्या १२ हजार दुई सय ४२ र सुरक्षाकर्मीको सङ्ख्या चार हजार पाँच सय ८० रहने पनि निर्देशनालयले जनाएको छ ।
फोटो पनि छ ।
यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाका ५ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन ।
निजगढमा रहेका ८ सामुदायिक र २ संस्थागत गरी १० वटा माध्यमिक विद्यालयबाट परीक्षामा विद्यार्थीहरु सहभागी हुन लगेका हुन । निजगढमा एसईई परीक्षाको लागि यस वर्ष पनि निजगढ ८ को गौरीशंकर मावि र निजगढ ६ को गौरीशंकर मावि सडकटोल परीक्षा केन्द्र कायम गरिएको छ । निजगढ ८ को परीक्षा केन्द्रमा सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल, नेत्रोदय मावि योजना, बकैया ठाकुर मावि, नेरामावि सिगौल र होली एञ्जल्स बोडिङ्ग स्कुलबाट २५५ जना परीक्षार्थी विद्यार्थीहरु सहभागी हुने गौरीशंकर मावि निजगढ ८ का केन्द्राध्यक्ष बद्रीनारायण झाले जानकारी दिनुभयो । त्यसैगरी सडकटोल परीक्षा केन्द्रमा भने गौरीशंकर मावि निजगढ ८, नेरामावि लाल, नेरामावि रतनपुर र विद्यासागर बोडिङ्ग स्कुलका ३१३ जना परीक्षार्थी रहेका छन । यो केन्द्रमा यादवकुमार तिमल्सिनालाई केन्द्राध्यक्ष तोकिएको छ । यसैबीच निजगढ ५ बागदेवको सार्वजनिक माविबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको हिजो एक कार्यक्रमबीच विदाइ गरिएको छ । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम र शिक्षकहरुले परीक्षामा सफलताको कामनासहित विद्यार्थीहरुको विदाई गरेका हुन । परीक्षामा सो विद्यालयबाट ६३ जना विद्यार्थी सहभागी हुदैछन ।

















