कृपा संवाददाता
निजगढ, १४ मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बाराको निजगढमा सञ्चालित होटल, क्यान्टिन र रेस्टुरेन्टलाई स्तरीकरणसहित लोगो प्रदान गरेको छ। कार्यालयले लोगो वितरणअघि होटल व्यवसायी‚ उद्योग वाणिज्य संघ र निजगढ नगरपालिकाको प्रतिनिधिसहित अनुगमन गरेको थियो।

 

अनुगमन मूल्याङ्कनका आधारमा प्राप्ताङ्कअनुसार लोगो वितरण गरेको हो। निजगढमा सञ्चालित तारा ईन, चंकि रेष्टुरेन्ट, श्री शुभम गेष्ट हाउस एण्ड होटल, होटल हेवेन, जंगल ईन, पोखरी रिर्सोटले ‘ग’ वर्गको स्तर पाएका छन्। उनीहरुले सन्तोषजनक लोगोसँगै एक स्टारको मान्यता र हरियो स्टिकरको लोगो पाएका हुन्।

 

त्यस्तै‚ होटल गोल्डेन ट्रेङ्गल, हाईवे फास्ट फूड, हेप्पी किचेन र गुरुङ होटलले होटलको स्तर ‘घ’ पाएका छन्। उनीहरुले ‘सामान्य’ लोगो पाएका छन्। त्यसको संकेत पहेँलो स्टीकर रहेको छ। मूल्याङ्कनमा प्राप्ताङ्क ९० भन्दामाथि ल्याएमा अति उत्तम, ८० देखि ९० अंक ल्याएमा उत्तम, ६५ देखि ७९ सम्म ल्याएमा सन्तोषजनक र ५० देखि माथि ६४ सम्म ल्याएमा सामान्य अंकित लोगो पाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका श्रवण कुमार साहले जानकारी दिनुभयो ।

 

 

होटल तथा रेष्टुरेन्टको भान्सा, शौचालय, सरसफाई र सेवालाई आधार मानेर मूल्याङ्कन गरिएको थियो । निजगढमा सञ्चालित बाँकी होटलको दोस्रो चरणमा मूल्याङ्कन गरी लोगो प्रदान गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here