सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा शुक्रवार दिउँसो नगरपालिकाका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र प्रशासन शाखा प्रमुख भोजेन्द्रप्रसाद चौधरीबीच कार्यालयभित्रै कुटाकुट भएको हो । प्रशासन शाखा प्रमुख चौधरीले आफूमाथि पूर्वप्रमुख प्रशासकीय अधिकृत जयसवालसहित ४ जनाको समूहले हाजिर किन काटेको भन्दै कलर समातेर कुटपिट गरेको बताउनुभएको छ । कुटपिटका क्रममा आफ्नो गलाको दुई तोलाको सुनको सिक्री समेत हराएको चौधरीले बताउनुभएको छ ।

त्यसपछि सोही समूह नगर प्रमुख किशोरीप्रसाद कलवारको बैठक कक्षमा पुगेर नगर प्रमुख कलवारमाथि पनि दुव्र्यवहार गर्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरुका अनुसार अन्य कर्मचारीहरुले प्रतिकार गर्न थालेपछि जयसवाल भने त्यहाँबाट बाहिरिएको र सँगै आएका अर्का एक व्यक्तिलाई भने सिम्रौनगढ बजारको शिवशक्ति औषधि पसलबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यता, पूर्व प्रमुख प्रशासकीय अधिकृत जयसवालले कार्यालयमा हाजिर गर्न गएको समयमा नगर प्रमुख कलवारका मान्छेहरूले आफूलाई कुटपिट गर्न खोजेको र भागेर ज्यान जोगाएको बताउनुभएको छ । उहाँले संगै रहेका आफ्नो सालोमाथि भने कुटपिट भएको र प्रहरीले सुरक्षा दिएर जोगाएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत सातौँ तहका कर्मचारी जयसवाल यसअघि सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । सातौँ तहका कर्मचारी जयसवाल कार्यालयमा दशौँ तहका कर्मचारी आएपछि उहाँ पदबाट स्वत हटनुभएको हो । पछिल्लो समय नगरप्रमुख कलवार पनि जयसवालसंग असन्तुष्ट हुनुहुन्थ्यो ।

Leave a Reply