बीरगन्ज, २ वैशाख । कोरोनाभाइरस सङ्क्रमणबाट बीरगन्जमा फेरी एक ४२ वर्षीय महिलाको मृत्यु भएकाे छ।बीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत ४२ वर्षीय महिला सङ्क्रमणबाट ज्यान गुमाएकी छिन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।स्वास्थ्यमा समस्या आएर चैत्र २९ गते आइतबार राती ८ बजे अस्पताल भर्ना भएकी बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महिलाको तिन दिनको उपचारपछि मृत्यु भएको छ ।अस्पताल भर्ना भएकै दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।‘भर्ना भएकै दिन उनमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । हामीले उनको थ्रोट स्वाबलाई आरटि-पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।’
डा. दास अनुसार सुरुको दिनदेखिनै उनको स्वास्थ्य अवस्था चिन्ताजनक थियो । उनको अस्पतालमा रहेको कोभिड आईसीयू भित्र अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले जानकरी दिए ।
‘उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल थियो । आज उनलाई श्वास प्रश्वासमा धेरै समस्या आएपछि भेन्टिलेटरमा राख्न खोज्यौं । धेरै प्रयाग गर्दापनि हामीले उनको ज्यान जोगाउँन सकेनौं ।’
उनको मृत्युसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । गएको एक हफ्ताभित्र नारायणी अस्पतालमा सङ्क्रमणका कारण यो तेस्रो मृत्यु हो । यसअघि वीरगञ्जका एकजना र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना पुरुषले सङ्क्रमणका कारण एकै दिन ज्यान गुमाएका थिए । जिल्लामा अहिले १ सय भन्दामाथि कोरोनाको एक्टिभ केसपनि छन् ।
अहिले अस्पतालमा ७ जना सङ्क्रमितको उपचार चलिरहेको डा. दासले जानकारी दिएका छन् । जसमध्ये २ जनाको अवस्था अहिलेपनि चिन्ताजनक छ । उनीहरुको अक्सिजन सपोर्टमा राखेर उपचार चलिरहेको उनले बताए । अन्य ५ जनामध्ये २ जनालाई आजै डिस्चार्ज गरिँदै छ ।