निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिको सभापतिमा सन्जिव भट्टराई विजयी हुनुभएको छ ।रास्वपा निजगढ नगर समितिको आज भएको अधिवेशनमा सभापतीका अर्का उम्मेदवार नारायणप्रसाद शर्मालाई पराजित गर्र्दै भट्टराई निर्वाचित हुनुभएको हो ।
रास्वपा निजगढका १३ जना वडा सभापतिहरुले मतदानबाट सभापति चयन गरेका हुन । रास्वपाको विधानअनुसार वडाबाट आउने प्रतिनिधिहरुले नगर अधिवेशनमा सहभागी हुने र उनीहरुले नै नगर कार्यसमितिको सभापतिसहित अन्य पदाधिकारीहरु चयन गर्नुपर्ने प्रावधान रहेपनि वडाबाट आवश्यक संख्यामा प्रतिनिधि चयन हुन नसकेको भन्दै केन्द्रीय प्रतिनिधि साजन शर्मासहित निर्वाचन मण्डलले वडा सभापतिहरुको मात्रै मतदान गर्ने निर्णय गरिएको थियो । निर्वाचनमा भट्टराईले ७ र शर्माले ६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सचिव पदमा सुरज तिमल्सिना निर्विरोध हुनुभएको छ । उपसभापतिमा सबिना बिष्ट र कार्यसमितिका ५ जना महिला सदस्य यसअघि नै सर्वसम्मत रुपमा निर्वाचित भइसक्नुभएको छ ।

१ जना सहसचिवसहित कार्यसमितिका अन्य सदस्य र जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि चयन पनि बाँकी नै रहेको जनाइएको छ । निर्वाचन समितिले आज बाँकी पदाधिकारीहरुको चयन गर्ने बताइएको छ ।यसैबीच सभापति पदका प्रत्यासी नारायणप्रसाद शर्माले निर्वाचन प्रक्रिया विधान विपरित भएकोले आफूलाई मान्य नभएको र सोबारेमा सम्बन्धित समितिमा उजुरी गर्ने बताउनुभएको छ । उहाँले विधानअनुसार वडाबाट आउने प्रतिनिधिहरुले सभापति लगायत नगर समितिका पदाधिकारीहरुको चयन गर्नुपर्नेमा विधान विपरित भएको निर्वाचन आफूलाई मान्य नभएको बताउनुभएको हो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोल्हबी नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नगर अधिवेशनबाट थानेश्वर पहाडीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।
नगर समितिको उपसभापतिमा जितनप्रसाद चौधरी, सचिवमा मनोज चौधरी तथा सहसचिवमा नन्दु चौधरी र कोषाध्यक्षमा सारजङ्ग थापा चयन भएका छन । कार्यसमितिको सदस्यहरूमा राजु चौधरी, मुकेश मुखिया बिन, धर्मेन्द्र ठाकुर ब्राह्मण, नागमणी चौधरी, सुनिता चौधरी, गीता दास, अप्सरा मल्ल र शिवजी खड्का रहेका छन् ।त्यसैगरी जिल्ला प्रतिनिधिमा जगदेव चौधरी, हरिओम साह रौनियार, हिरामणी खनाल तथा हरिओम मैनाली चयन भएका छन् भने भरत रुम्बा र भुवाली चौधरीलाई नगर समितिको सल्लाहकारमा मनोनित गरिएको छ ।

प्रदेश प्रतिनिधिमा राजु घोरसाइने र अशोक महर्जन तथा केन्द्रीय प्रतिनिधिमा भेषबहादुर ढकाल र हेमराज बडाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन अधिकृत राजकिशोर गुप्ताको संयोजकत्व तथा प्रदेश समिति सदस्य रोहित बास्तोलाको रोहबरमा अधिवेशन सम्पन्न भएको हो ।नवगठित नगर समितिका सभापति पहाडीले अब कोल्हबीमा पार्टी संगठनलाई थप मजबुत बनाइने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै कोषाध्यक्ष थापाले पनि पार्टीको आर्थिक पारदर्शिता र संगठन सुदृढीकरणमा जिम्मेवार ढंगले काम गर्ने बताउनुभयो ।

सांसद एंव मधेस प्रदेश संगठन विभाग प्रमुख गणेश धिमालले नवनिर्वाचित टोलीलाई बधाई दिँदै जनताको भरोसाअनुसार काम गर्न सुझाव दिनुभएको थियो । उहाँले पार्टीलाई जनमुखी र जिम्मेवार ढंगले अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave a Reply