वीरगञ्ज,मिचाहा प्रजातीको ‘माइग्रेनिया’ झारका कारण बाराका गढीमाई र हलखोरिया साझेदारी वनमा नयाँ प्रजातिका सालका विरुवा हुर्कनलाई चुनौती थपेको छ । लामो समयदेखि ‘माइग्रेनिया’ झारकै नयाँ पालुवाका बोट बिरुवालाई ढपक्कै ढाकेर हुर्कन र बढ्नमा समस्या पार्दैआइरहेको जनाइएको छ ।
बाराको पथलैयास्थित गढीमाई साझेदारी वनका संस्थापक अध्यक्ष गणेशप्रसाद साहले ‘माइग्रेनिया’ झारको कारणले वनजङ्गल संरक्षणमा चुनौती थप्दै आइरहेको बताउनुभयो । “उक्त झारले नयाँ प्रजातीका सालका बोटबिरुवालाई ढाक्दा बोटबिरुवा हुर्कन र बढ्न पाइरहेका छैनन्, यसका कारण वनमा नयाँ खालको समस्या थपिरहेको छ”, उहाँले भन्नुभयो, “माइग्रेनिया झारले वनलाई नै छोप्ने हो कि भन्ने आशङ्का उत्पन्न गराइरहेको छ ।” विगतमा वैज्ञानिक वन कार्यक्रम लागू भएर पुराना रुख काटेर खाली भएको नयाँ ठाउँमा नयाँ साल तथा अन्य प्रजातीका बिरुवा हुर्काउन र बढाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
यद्यपि वैज्ञानिन वन कार्यक्रम २०७६ सालमा खारेज भएर अहिले दीगो वन कार्यक्रम लागू भइसकेको छ । गढीमाई साझेदारी वन ९५८ हेक्टरमा फैलिएको छ । वनमा खेतला लगाएर हिउँदेयाममा माइग्रेनियाको झारलाई हटाउने प्रयास गरे पनि समस्या अझै समाधान हुन सकिरहेको छैन । माइग्रेनिया झारको कारणले बाराकै हलखोरिया साझेदारी वन पनि उत्तिकै प्रभावित हुँदै आइरहेको छ । महेन्द्र राजमार्गसँगै जोडिएको हलखोरिया साझेदारी वनमा पनि माइग्रेनिया झारको प्रकोप कायमै छ ।
हलखोरिया साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईले हलखोरिया साझेदारी वनको ३५ हेक्टर क्षेत्रफलमा माइग्रेनियाको समस्या रहेको बताउनुभयो । “केही वर्षदेखि साझेदारी वनको झाडी सरसफाइ गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “मधेस प्रदेशबाट हलखोरिया वनको १० वर्षे दिगो वनको कार्ययोजना स्वीकृत नभएकाले मिचाहा जातको माइग्रेनिया रोकथाम र नियन्त्रणको काम प्रभावित हुँदै आइरहेको छ । हलखोरिया साझेदारी वन दुई हजार ३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले मिचाहा प्रजातिको माइग्रेनिया झारलाई फूल फुल्नु अगावै तीन सातामा एक पटकको दरले तीन पटक काटेको खण्डमा ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने बताउनुहुन्छ ।
“हिउँदेयाममा सुकेको माइग्रेनिया झार हटाएर यसको रोकथाम तथा न्यूनीकरण गर्न सकिदैंन” उहाँले भन्नुभयो, “असार–साउन महिनामा माइग्रेनिया झारलाई तीन–तीन साताको अन्तरमा झार काटेको खण्डमा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।” माइग्रेनिया झार विशेषत भदौ र असोज महिनामा फूल फुल्ने गर्छ । प्राध्यापक डा राईले सडकसँगै जोडिएको खुल्ला ठाउँको वनजङ्गलमा सूर्यको प्रकाश पुग्ने ठाउँमा माइग्रेनिया झार अत्यधिक मात्रामा हुर्किने भएकाले पनि बाक्लो वनजङ्गलले घेरेर राखेको खण्डमा धेरै हदसम्म माइग्रेनिया झारलाई नियन्त्रण गर्न सकिने बताउनहुुन्छ ।
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले बारा र रौतहट जिल्लाका सामुदायिक र साझेदारी वनको अनुभव लिएर पर्सा जिल्लामा पनि दुई वटा साझेदारी वनमा १० वर्षे कार्ययोजना लागू गर्न लागेको बताउनुभयो । “बारा र रौतहटका साझेदारी र सामुदायिक वनमा देखिएका चुनौती र सम्भावनालाई सिकाइको रुपमा लिएर पर्सा जिल्लामा पनि साझेदारी र सामुदायिक वनलाई व्यवस्थित गर्ने जमर्काे गरेका छौँ”, उहाँले भन्नुभयो ।


















