निजगढ,निजगढको गौरीशंकर क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले महिलालाई प्राथमिकता दिएर मुख्यमुख्य पदसहित ६२ प्रतिशतभन्दा पनि बढी छात्रा उम्मेदवार बनाएको भन्दै निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी लामिछानेले अनेरास्ववियुलाई धन्यवाद दिनुभएको छ ।
नेकपा एमालेको मधेस प्रदेश कमिटीबाट निजगढ नगर पार्टी कमिटीको इन्चार्जसमेत रहनुभएकी लामिछानेले आइतवार बेलुका आफ्नो सामाजिक संजाल फेसबुकबाट स्टाटस लेख्दै झण्डै ८० प्रतिशत छात्रा (महिला) अध्ययनरत क्याम्पसमा सोही अनुसार महिला विद्यार्थीलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय प्रशंसनीयमात्रै नभएर अनुकरणीय पनि छ भन्नुभएको छ ।
राज्यका सबै निकायमा ३३ प्रतिशत आरक्षणको लागि संघर्ष गर्दैआइरहेका नेपालका महिलाहरुको लागि अनेरास्ववियु निजगढको कार्य पे्ररणादयी रहेको उहाँको भनाई छ ।बालकृष्ण हुमागाई नेतृत्वको प्यानलमा अनेरास्ववियुले प्रेक्षा उप्रेती (सचिव), ललिता सापकोटा (कोषाध्यक्ष) र सम्रिता श्रेष्ठ, नेहाकुमारी ठाकुर र नेहा कुवरलाई प्रतक्ष्यतर्फ सदस्यहरु पदमा उम्मेदवार बनाएको छ । त्यसैगरी समानुपातिकतर्फका ६ पद मध्ये मोनिका घिमिरे, सारिका सुनार र सुहाना श्रेष्ठ सदस्य पदमा उम्मेदवार बन्नुभएको छ ।
यसैबीच क्याम्पसमा हुने निर्वाचनको क्रममा निर्वाचन समितिले आइतवार मतदाता शिक्षा र उम्मेदवार परिचयात्मक कार्यक्रम आयोजना गरेको छ ।क्याम्पस प्रमुख टिकाराम भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गोविन्द अधिकारीले मतदान गर्दा ध्यान पु¥याउनुपर्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भट्टराईले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै विद्यार्थीहरुसंग आग्रह गर्नुभयो ।त्यसैगरी सोही कार्यक्रममा स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सभापती पदका उम्मेदवार बालकृष्ण हुमागाई, नेपाल विद्यार्थी संघबाट सभापती पदका उम्मेदवार दावा लामा योञ्जन र अखिल क्रान्तिकारीको तर्फबाट सभापती पदका उज्जल प्रसाईले मतदाताबीच आआफ्नो परिचय दिएका थिए ।