वीरगन्ज, २५ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै जनमत पार्टीले आज वीरगन्जमा प्रदर्शन गरेको छ। मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा संविधानको उल्लंघन भएको भन्दै तत्काल बर्खास्ती र त्यसबेला प्रदेश प्रमुख रहेकी साबित्री सुवेदी भण्डारीविरुद्ध कारबाहीको मागसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सडक प्रदर्शन गरेका हुन्।

वीरगन्जको घण्टाघर चोकमा गरिएको विरोध कार्यक्रमका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध गरेका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केही समय प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो।

विरोध कार्यक्रममा सम्बोधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले मधेस प्रदेशको अधिकार तथा संघीय संरचनामाथि प्रश्न उठ्ने प्रयास भइरहेको आरोप लगाए। उनले भने, “संविधानले दिएको अधिकार कुण्ठित गर्ने प्रयास भइरहेको छ। मधेसको आवाजलाई दबाउने कुनै प्रयास स्वीकार्य हुँदैन।”

सरार्फले मुख्यमन्त्री नियुक्ति सम्बन्धी निर्णय पुनःविचार गर्न सरकार तथा संवैधानिक निकायलाई आग्रह गर्दै भने, “यदि निर्णय सच्याइएन भने जनमत पार्टी थप कडा आन्दोलनमा जानेछ।”

प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा। मनोज सरार्फ, भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन लगायत स्थानीय युवा तथा महिला कार्यकर्ताहरूको उपस्थिति थियो।

Leave a Reply