कलैया,बाराको महेन्द्र आदर्श केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शुक्रवार केन्द्रध्यक्षसहित पाँच जना निलम्बित भएका छन् ।जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा रहेको महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बन गरिएको हो ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीको शुक्रवारको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।हटाइएका केन्द्राध्यक्ष सहितको ठाउँमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । परीक्षा सुरुभएको १५ मिनेटमै परीक्षार्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो पठाएका थिए । परीक्षा केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो ।जनता माध्यमिक विद्यालय कचोर्वाका परीक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाएका हुन । ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्रको फोटो बाहिरएपछि परिक्षा केन्द्र बाहिर मोबाइल हेर्नेहरुको भिड् लागेको थियो । सोही क्रममा प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छने भने परिक्षार्थी साहलाई रिहा गरेको छ ।प्रहरी उपरीक्षक बोगटीका अनुसार परिक्षार्थी साहको पहिलो दिनको परीक्षा रद्द गर्ने निर्णय गर्दै उनलाई छाडिएको र दीपकलाई कारबाहीका लागि मुद्दा प्रक्रियाअघि बढाइएको छ ।प्रहरीका अनुसार परीक्षा रद्द गर्नुपर्ने स्थिति भने नरहेको बताइएको छ । प्रश्नपत्र बाहिरिए पनि उक्त ग्रपमार्फत उत्तर भने भित्र गएको नदेखिएकोले परीक्षा रद्द गर्नुपर्ने अवस्थामा नरहेको उपरीक्षक बोगटीको भनाइ छ ।यसैबीच महोत्तरीको एक परीक्षा केन्द्रमा सुरक्षामा खटिएका एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो । परीक्षा चलिरहेका बेला सुरक्षामा खटिएका रौतहटको गौर नगरपालिका वडा नम्बर २ निवासी पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याइएको थियो ।उपचारका क्रममा उनको बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभएको छ ।

Leave a Reply