काठमाण्डौं,सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित हटाएको हो ।मन्त्रिपरिषद्ले शर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।यसअघि साउन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै समाजिक सञ्जाललाई समान व्यवहार गर्न र नियम, कानुन बनाएर आवश्यक नियमन गर्न सञ्चार मन्त्री गुरुङ्ग, सञ्चार सचिव राधिका अर्याल र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि सञ्चार मन्त्री गुरुङले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुभएको थियो । उहाँको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।
यो निर्णय कार्यान्वयनका लागि टिकटकले अब सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘नीतिगत रुपमा खुल्यो । कार्यान्वयनमा आउन टिकटकले हाम्रो शर्त पूरा गर्नुपर्छ ।’
उहाँका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट (सम्पर्क केन्द्र) तोक्नुपर्छ ।
यसअघि मन्त्रालयसंग विभिन्न चरणमा भएको छलफलमा टिकटकका प्रतिनिधिहरुले पनि नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमति जनाएका छन ।साथै सरकारले टिकटकको प्रतिबन्ध हटाउन थप चार वटा शर्त राखेको छ । जसअन्तर्गत पर्यटन प्रबर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको माग छ ।यस्तै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो कुनै पनि परिस्थिति आउन नदिने गरी फिल्टिरिङ हुनुपर्छ ।’
सरकारले गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने पनि बताएको छ । मन्त्री गुरुङले भन्नुभयो ‘यो अरु सञ्जालको हकमा पनि लागू हुन्छ ।’सामाजिक सद्भावमा खलल पुर्याएको भन्दौ प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको अघिल्लो सरकारले गत वर्ष कार्तिक अन्तिम साता टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।उक्त प्रतिबन्धसँगै टिकटकले विभिन्न समयमा आफ्ना प्रतिनिधिहरुमार्फत सरकारलाई पत्र पठाएर प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो ।छोटो समयमा निकै लोकप्रिय बनेको टिकटकले गत वर्ष प्रतिबन्ध लागेपछि नेपालको कानुन अनुसार चल्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारले खासै चासो दिएको थिएन ।

















