दक्षिण एसियाली खेलकूद मंगलबार सकियो । खेलाडीहरुका लागि प्रधानमन्त्रीले प्याकेज कार्यक्रम पनि घोषणा गरे । विभिन्न क्षेत्रमा अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नभएका कारण असन्तुष्टि र असफलताको अनुभूति गर्दै आएका नेपालीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले केही हद सम्म सन्तोष र प्रसन्नता प्रदान गरेको छ । विभिन्न आरोह–अवरोहका बीच मंगलबार सम्पन्न भएको सागले प्रयास गर्दा सफल हुन सकिने पाठ पनि सिकाएको छ । दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतले यसपटक पनि पदक तालिकामा शीर्ष स्थानमा रहँदै विगतको आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ ।
भारतले १ सय ७४ स्वर्ण सहित ३ सय १२ पदक जितेको छ भने नेपालले ५१ स्वर्ण जितेर आफूलाई दोस्रो स्थानमा राख्न सफल भएको छ । नेपालले कुल २ सय ६ पदक जितेको छ । विभिन्न अभावका बीचमा पनि नेपालले यसपटक आफ्नो उपस्थितिलाई मजबुत बनाएको देखिन्छ । नेपालका खेल पदाधिकारीले खेलाडीलाई जति महत्व दिनुपर्ने हो त्यो दिन नसक्दा पनि नेपालका खेलाडीले आफूलाई अब्बल सावित गर्दै विगतको नेपालको नाममा रहेको ३२ स्वर्णको रेकर्डलाई तोड्दै ५१ स्वर्ण जितेर इतिहास रच्ने काम गरेका छन् ।
नेपालले खेल क्षेत्रलाई महत्व दिने हो भने यस्ता क्षेत्रीय खेलकुद प्रतियोगितामा मात्र होइन विश्व स्तरीय खेलमा समेत नेपालका खेलाडीले प्रतिस्पर्धा गर्न सक्नेमा दुईमत देखिँदैन । खेल सामग्रीको अभावमा पनि नेपाल भन्दा सम्पन्न राष्ट्रलाई समेत पछि पार्दै नेपाली खेलाडीले नेपालको इज्जत राख्ने काम गरेका छन् । राष्ट्रले खेल क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न नसकेको वर्तमान परिप्रेक्ष्यमा खेलाडीहरूको कडा परिश्रम र प्रशिक्षकको मेहनतको फलका रूपमा सागमा नेपाली खेलाडीहरूले प्राप्त गरेको सफलताको मुक्त कण्ठले प्रशंसा गर्नु पर्दछ ।