कलैया,मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसइई) को केन्द्राध्यक्ष गोलाप्रथाबाट हुनुपर्ने अडान राख्नुभएको छ ।परीक्षालाई मर्यादित बनाउन मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आट ओटै जिल्लाका सरोकारवाला प्रतिनिधिहरूसँग छलफल गरी लिखित आदेश जारी गरेपछि जिल्लाका एसइइ परीक्षा समन्वय समिति र केन्द्रध्यक्षहरूमा हलचल मच्चिएको छ । मुख्यमन्त्री सिंहले भने केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाद्वारा नै गरिने र यसका लागि परीक्षा नियन्त्रण कार्यलयमा समेत समन्वय गरिरहेको र सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

मधेशको परीक्षा प्रणालीलाई स्वच्छ र मर्यादित बनाउन आफूले यो कदम चालेको मुख्यमन्त्री सिंहको भनाइ छ । बारा एसइई परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार प्रदेश मुख्यमन्त्रीले परीक्षाका सन्दर्भमा चालेको कदम अत्यन्तै सह्रानीय भएको तर केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी केन्द्राध्यक्षको नियुक्ति समेत वितरण भैसकेको अवस्थामा समय कम भएकाले कार्यान्वयनमा जटिलता उत्पन्न हुनसक्छ कि भन्ने आशंका पैदा भएको छ । प्रजिअ अधिकारी सोमबारसम्म सबै केन्द्राध्यक्षको विषय समाधान हुने र प्रदेशका आठै जिल्लामा एउटै तरिकाले परीक्षा हुनेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ ।

बारा जिल्लामा आइतवार सम्बन्धित विद्यालयकै प्रधानाध्यापकहरु केन्द्राध्यक्षको नियुक्ति पत्र बुझेर घर घर पुगिसकेका थिए । तत्कालै परीक्षा समन्वय समितिले केन्द्राध्यक्षहरुलाई पुन जिल्लामा बोलाएर छलफल गरी गोलाप्रथा भएपनि जुन सुकै ठाउँमा जान पनि तयार रहन आग्रह गरिएको बताइएको छ । यता केन्द्राध्यक्षहरू भने आफू जुनसुकै केन्द्रमा जान तयार भएको तर त्यसका लागि सुविधा बढाउनुपर्ने माग गरिरहेका छन् ।बारा जिल्लामा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी ९ हजार ६ सय ८६ जना छात्रछात्राले एसइइ परीक्षा दिने र यसका लागि ४२ वटा केन्द्र तोकिएको जिल्ला समन्वय एकाइ प्रमुख हेमराज खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पु¥याइसकिएको छ । यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन् । देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ भने जापानमा पनि एक परीक्षा केन्द्र रहेको छ । परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

Leave a Reply