कलैया,मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगन्ज शाखाको टोलीले ठाकुरको उद्धार गरेको हो । हाल उनलाई वीरगन्ज लगिएको छ । उद्धार गर्नुअघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो । ठाकुरलाई मानव सेवा शाखा वीरगन्जमै राखेर औषधि उपचार गरिने सामाजिक अभियन्ता एवं आश्रमका संरक्षक प्रकाश थारुले जानकारी दिनुभयो ।
‘चार वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधेर राखिएको थियो, कपडा च्यातेर फाल्ने गरेकोले शरीरमा एकसरो कपडा पनि थिएन,’ उहाँले भन्नुभयो, ‘सरसफाइपछि नयाँ कपडा लगाइदिएर उद्धार गरी वीरगन्ज आश्रममा ल्याएका छौं । औषधि उपचार गरेर निको नभएसम्म यतै राख्छौं ।’
वीरगन्जका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतले ठाकुरको उपचारमा सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
ठाकुर बिरामी परेपछि परिवारले निकै दुःख पाएको र सात कठ्ठा जमिन र गरगहना बेचेर उपचार गराउँदा समेत निको नभएको परिवारका सदस्यले बताएका छन ।
मानव सेवा आश्रमले सडकमा अलपत्र, बेसहारा मानिसहरुको उद्धार गरेर खान, बस्न र लगाउने व्यवस्था मिलाउँदै आएको छ । मानव सेवा आश्रम वीरगन्ज शाखामा ४८ जनाले सेवा लिइरहेको आश्रमकी सानु गुरुङले जानकारी दिनुभयो ।