रौतहट १९ भदौ ।
जिल्लाको चन्द्रपुर नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको २५ मिटर अतिक्रमित क्षेत्र खाली गरिने भएको छ । आइतबार चन्द्रपुर नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले पूर्व–पश्चिम राजमार्गको दांयाबांया २५ मिटर र गौर–चन्द्रनिगाहपुर राजमार्ग दांयाबांया १५ मिटर खाली गराउने निर्णय गरेको चन्द्रपुर ४ का वडाध्यक्ष रवि राना मगरले जानकारी दिए ।

बैठकले निर्धारित सडक सिमा अतिक्रमण गरेर घर, टहरा बनेको, ठेला व्यवसायहरु सञ्चालन गरिहहेको, व्यवसायीहरुले सामाग्री राखेर ओगटी रहेको देखिएकाले सो क्षेत्रहरु ७ दिनभित्र खाली गर्न समयसिमा दिएको उनले बताए । सडक ओगेटेर बनेका संरचनाहरुले सडक सांघुरो बनाएको र नगरको शौन्दर्यतामा असर गरेकाले हटाउने तयारी गरिएको चन्द्रपुर नगरपालिकाका नगरपालिकाका नगरप्रमुख संजय काफ्लेको भनाइ छ ।

सडकको सिमा मिचेर बनेको संरचनाहरुले गर्दा दुर्घटनाको पनि जोखिम उच्च रहेकाले नगरपालिकाको पहलमा यो अभियानको सुरु गरिएको उनले बताए । उनले ७ दिनको समयसिमाभित्र अतिक्रमित क्षेत्र खाली नगराए डिभिजन सडक कार्यालयको अगुवाई अतिक्रमण गरि बनाइएका संरचनाहरु भत्काएर खाली गराउने जनाउंदै यस अभियानमास्वतः स्फुर्त रुपमा साथ दिन नगरवासीहरुलाई आग्रह गरे ।

‘हामी सुन्दर नगर बनाउने अभियानमा छौं’, उनले भने ‘फरकिलो सडकले नगरको सुन्दरता बढाउंछ र दुर्घटनाको जोखिम पनि कम गर्छ । यसलाई सफल बनाउन सबै नगरवासीको साथ र सहयोग अत्यावश्यक छ ।’चन्द्रपुर नगरपालिका सडक क्षेत्रमा देखिएका समस्याहरुलाई नगरपालिकाले योजनावद्ध ढंगले समाधान गर्न लागि परेको चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले बताइन् ।

उनले चन्द्रपुर नगरपालिकालाई सुन्दर तथा व्यवस्थित नगर बनाउन नगरपालिकाले कुनै कसर बांकी नराख्ने जनाउंदै यसमा सरोकारवाला सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता पर्नेमा जोड दिइन् ।

चन्द्रपुर नगरपालिकामा रहेका दुबै राजमार्गहरुको दायांबांयाको क्षेत्र अतिक्रमण गरेर संरचनाहरु बनाइएका छन् भने सडकमै ठेला राखेर गरिने फलफुल, तरकारी, चटपटे लगायतका व्यवसाय पनि निर्धक्क रुपमा संचालन गरिन्छ । यसरी अतिक्रमित संरचनाहरु हटाएर सडक क्षेत्र खाली डिभिजन सडक कार्यालय यसअघि पनि पटक–पटक प्रयास गरेपनि खाली गराउन सकेको छैन् ।
यसपटक पनि बैठकले गरेको निर्णय निर्णयमै सिमित हुने हो भन्ने शंका स्थानियले गरेका छन् । चन्द्रपुर नगरपालिकाका नगर उद्योग वाणिज्य संघका सचिव दिवाकार सापकोटाले यस पटकको निर्णय पहिला पहिलाको निर्णयहरु जस्तै कागजमै सिमित हुने त होइन भन्ने आशंका व्यक्त गर्छन् ।

उनले यो अभियानलाई सफल बनाउन नगरपालिका, डिभिजन सडक कार्यालय दृढ भएर अगाडि बढ्नु पर्नेमा जोड दिर्दै त्यसलाई साथ दिन व्यवसायीहरुलाई आग्रह गरे ।बैठकले चन्द्रपुर नगरपालिकामा रहेका पार्कि· तथा बजार व्यवस्थापनको बारेमा पनि सरोकारवालाहरुसंग छलफल गरि छिट्टै ठोस योजना बनाउने निर्णय गरेको चन्द्रपुर ६ का वडाध्यक्ष सहदेव केसीले जनाए ।

बैठकमा इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तुप्रसाद जैसवार, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक बिमला कुमारी कठायत, चन्द्रपुर नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष जगदिप चौधरी, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधी, चन्द्रपुरका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको चन्द्रपुर नगपालिकाका सूचना प्रविधि अधिकृत राजेश सागरले जानकारी दिए ।

Leave a Reply