निजगढ, निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवले आगामी शैक्षिक सत्रबाट कम्प्युटर विषयमा ३ वर्षे डिप्लोमा कक्षा संचालन गर्ने भएको छ ।कक्षा संचालनको पूर्वतयारीको क्रममा मंगलवार विद्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयमा यसै वर्षदेखि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग विषयमा पठनपाठन गरिने जानकारी दिनुभयो । उहाँले कक्षा संचालनको लागि सिसिइभिटीबाट अनुमति प्राप्त भइसकेको र एसइइको परीक्षाफल प्रकाशित भएलगत्तै कक्षा संचालन हुने बताउनुभयो । प्रधानाध्यापक लामाले विद्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार तयार पारेर गुणस्तरीय शिक्षा प्रदान गरिने पनि बताउनुभयो ।छलफल कार्यक्रममा बोल्दै निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगरले प्राविधक शिक्षा आजको आवश्यकता भएको बताउदै विद्यालयले संचालन गर्न लागेको कम्प्युटर कक्षाको सफलताको लागि कार्यालयको तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले विद्यालयका अभिभावक, समाजसेवी र अन्य सबै मिलेर गुणस्तरीय शिक्षा दिने कार्यमा लाग्नुपर्ने पनि बताउनुभयो । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले कम्प्युटर आजको युग अनुकुलको विषय भएकोले विद्यार्थीको आकर्षण देखिने र कक्षा संचालनको लागि आवश्यक विद्यार्थी संख्या जुटाउन जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाका विद्यार्थी र अभिभावकहरुसंग पनि सहकार्य र सम्पर्क बढाइने बताउनुभयो । ‘जानकारीको अभावमा इच्छुक कुनै पनि विद्यार्थी अध्ययन गर्ने अवसरबाट बन्चित हुनुहुदैन, अध्यक्ष गौतमले भन्नुभयो, यसको लागि व्यवस्थित रुपमा प्रचारप्रशारको काम गर्नुपर्ने हुन्छ ।’ कार्यक्रममा पूर्ववडा अध्यक्ष थलप्रसाद गौतम,समितिका पूर्वअध्यक्ष अम्बिका चौलागाई, नारायणप्रसाद गौतम, स्थानीय समाजसेवी सहदेव गौतमलगायतले कक्षा संचालनको आवश्यकता र महत्वको बारेमा बोल्नुभएको थियो ।निजगढमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका विद्यालयहरु मध्ये एक प्रमुख विद्यालयको रुपमा रहेको सार्वजनिक माविले यसअघि देखि नै कक्षा ८ सम्म कम्प्युटरलाई अनिवार्य विषयको रुपमा पठनपाठन गर्दैआएको छ ।

Leave a Reply