वीरगन्ज,प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगन्जलाई नबनाए आन्दोलन गर्ने पर्साका युवाहरुले चेतावनी दिएका छन । मधेश आन्दोलनको मुख्य केन्द्र वीरगन्जसंग सबै प्रमुख पार्टीका शीर्ष नेताहरुले बारम्बार धोका दिएको आरोप लगाउदै पर्साका युवा नेताहरुले वीरगन्जलाई प्रादेशिक राजधानी नबनाए यहाँका युवाहरु चुप लागेर बस्न नसक्ने उनीहरुले चेतावनी दिएका हुन् ।
मधेश आन्दोलनको बेला वीरगन्जका जनतालाई आन्दोलन गर्न लगाई सहिद बनाउने मधेश केन्द्रित दलका नेताहरुले नै वीरगन्जसंग घात गरिरहेको आरोप उनीहरुको छ ।
लोकतान्त्रिक सामाजवादी पार्टी नेपाल पर्साका उपाध्यक्ष तथा युवा नेता सुजित गिरीले वीरगन्जकै मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफनो पदको लोभमा वीरगन्जलाई राजधानी बनाउने बारेमा एक शब्द बोल्न नसकेको आरोप लगाउदै पर्सेली जनतालाई मुख्यमन्त्री नभइ वीरगन्जलाई राजधानी चाहेको बताउनुभयो । उहाँले जसपाकै पर्साका प्रदेश सांसदहरु पनि वीरगन्ज राजधानीबारे सदनमा आवाज उठाउन नसक्नुले पार्टीको दास बनेको आरोप लगाउनुभयो ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सभा सदस्य प्रह्लाद गीरीले प्रदेश २ को स्थायी राजधानी वीरगन्जको सट्टा जनकपुरलाई बनाइए कुनैपनि हालतमा स्वीकार नगरिने बताउनुभएको छ ।
सतारुढ दल जनता समाजवादी पार्टी कै योजना अनुसार वीरगन्जलाई प्रदेश राजधानी नबनाएर जनकपुर बनाउन थालिएको गीरीको आरोप छ । बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य गीरीले वीरगन्जलाई राजधानी बनाउनका लागि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पनि नियत प्रष्ट नभएको बताउनुभयो । वीरगन्ज नै प्रदेश २ का राजधानी उपयुतm भएकाले मुख्यमन्त्री राउत कै कारण वीरगन्जलाई राजधानी बनाउनबाट रोकिएको उहाँको भनाई छ । उहाँले वीरगन्जबाट निर्वाचित मुख्यमन्त्री राउतले नै यहाँका जनतालाई धोका दिन लागेकोले अब जनताले यसको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य गीरीले मुख्यमन्त्री राउतले नै आफ्नो कुर्सीसंग साटेर जनकपुर राजधानी बनाउन थालेको आरोप लगाउनुभयो । प्रदेश सरकारको आन्तरिक तयारी अनुसार नै प्रदेश राजधानी टुंगो लगाउने सभामुख सरोज यादवको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीमा पर्साका सांसदलाई नराखिएको पनि गिरीले बताउनुभयो । सरकार कै निर्देशन अनुसार प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’लाई बनाउन तयारी गरेर समिति बनाएको आरोप लगाउदै प्रदेशसभा सदस्य गीरीले पार्टीको ह्विप आफुलाई नलाग्ने भन्दै वीरगन्ज राजधानी बनाउनका लागि राजिनामा दिनु परे त्यसका लागि पनि आफू तयार रहेको बताउनुभयो ।
अब प्रदेश राजधानी वीरगन्ज बनाउनका लागि आवाज उठाउने उपयुक्त बेला भएकोले जिल्लाका सबै प्रदेश सभा सदस्यलाई एकजुट हुन उहाँले आग्रह गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेताहरु निजामुदिन समानी, रम्भा मिश्रालगायतकाले आफ्ना धारणा राखेका थिए ।


















