रौतहट,रौतहटको गौर नगरपालिका– ३ मा रहेको गौर राइस एन्ड फ्लोर मिलको जग्गा विक्री गरेको विषयलाई लिएर आइतवार पनि प्रदर्शन भएको छ । नगरपालिका कार्यालयले मिलको जग्गा विक्री गरेको भन्दै गत बुधवारदेखि गौरमा विभिन्न विरोधका कार्यक्रमहरू जारी छन् ।सोही क्रममा आइतवार पनि गौर नगरपालिका अगाडि प्रदर्शन गरिएको छ । सो क्रममा प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी पनि गरेका थिए ।

सन् १९४६ (विक्रम संवत् २००३) मा भारतको बजाज ग्रुप र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना भएको गौर राइस एन्ड फ्लोर मिल ३० वर्षसम्म सञ्चालनमा रह्यो । २०३३ सालमा विभिन्न कारणले बन्द भएपछि मिल अलपत्र अवस्थामा छ । मिलको नाममा रहेको ५ बिघा १९ कट्ठा १५ धुर जग्गाको स्वामित्वलाई लिएर सेयरधनी (मिलधनी) र स्थानीयवासी ४८ वर्षदेखि द्वन्द्व चल्दै आएको छ । मिलधनीले जग्गा बिक्री गर्न खोज्दै आएका छन् भने स्थानीयले उक्त सार्वजनिक सम्पत्तिको रूपमा जोगाउनुपर्ने अडान राखेका छन् ।

मिलका सेयर धनीको रूपमा एक सयभन्दा बढी नेपाली र भारतीय नागरिक थिए । अधिकांशको मृत्यु भइसकेको र भारतीय लगानीकर्ताहरू दरभंगाका व्यापारी विजयप्रसाद बजाज, अरविन्द बजाज र गोपालप्रसाद बजाजको अत्तोपत्तो नभएको अवस्थामा नक्कली कागजात बनाएर जग्गा बिक्री गर्न लागिएको स्थानीय ओमप्रकाश मधेशियाको आरोप छ । त्यस्तै अर्का स्थानीय विक्रान्त गुप्ताले भारतीय लगानीकर्ताको किर्ते हस्ताक्षर प्रयोग भएको दाबी गर्नुभएको छ ।
गौर नगरपालिकाले मिलको ५ बिघा जग्गामध्ये ५५ कट्ठा आफ्नो नाममा निःशुल्क पास गर्ने र बाँकी जग्गा सेयरधनीलाई फुकुवा गर्ने सहमति गरेको खबर बाहिरिएपछि विवाद चर्किएको हो । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले निर्णय नगरवासीको हितमा भएको दाबी गर्दैआउनुभएको छ ।
आन्दोलनकारीद्वारा तोडफोड
गौर,गौर राइस मिल्सको जग्गा प्रकरणको आन्दोलनका क्रममा केही उच्छृंखल तत्वहरूले रौतहट क्रिकेट संघको फर्निचर तोडफोड गरेका छन् ।आन्दोलनकारीहरूले गौर नगरपालिका कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि राइस मिल्सतर्फ गएका केही प्रदर्शनकारीहरूले क्रिकेट संघको कार्यालयभित्र पसरे कुर्सी तोडफोड गरी क्षति पु¥याएको रौतहट क्रिकेट संघका सचिव प्रमोद साहले जानकारी दिनुभयो । सचिव साहका अनुसार संघको आकस्मिक बैठक बसेर घटनाको यथार्थता बुझेर सोहीअनुरुप विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । सौजन्य तस्बिर

Leave a Reply