कलैया,विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईको बारालगायतका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बारा सदरमुकाम कलैया आसपासका ठाउँमा बिहानको तापक्रम न्यून भएकाले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।बिहानको तापक्रम अन्य दिनको तुलनामा एकदम कम रहने गरेको जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । घाम नलाग्ने तथा पश्चिमी वायुको प्रभावसँगै हावा चल्ने गरेकाले बुधवार बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको सो कार्यालयका मौसम अवलोकनकर्ता प्रतिष्ठा अधिकारीले बताउनुभयो ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्ने सर्वसाधारणलाई समस्या भएको छ । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ, विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ ।
चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । चिसोले मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ ।शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपंक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । तराई मधेशमा न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसहरु बढी प्रभावित हुने गरेका छन् ।
चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ, विशेष गरी कोल्ड डायरिया, दम र खोकीको बिरामी बढी देखिएको प्रादेशिक अस्पताल कलैयाका मेडिकल रेकर्डर निरज साहले बताउनुभयो ।मौसम परिवर्तनसँगै शीतलहर, जाडो लगायतबाट हुने अवस्था एवम् विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे छलफल भइसकेको बाराका निमित्त प्रमुख जिल्ला अधिकारी एवं सहायक जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो । बैठकले प्रभावित क्षेत्र, गाउँ, टोलको गरीब तथा विपन्न परिवारहरुको पहिचान गर्ने, राहत तथा उद्दारको लागि आवश्यक पर्ने, दाउरा, न्यानो कपडा कम्बललगायतका आवश्यक सामाग्रीको भण्डारण गर्ने लगायतका विषयमा १६ वटै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।शीतलहर तथा चिसोजन्य विपद् र दैवी प्रकोपबाट प्रभावित हुन सक्ने सङ्कटापन्न परिवारका लागि यस आर्थिक वर्षका जिल्ला विपद् व्यवस्थापन समितिसँग २५ लाख बजेट छ ।