आरके राजन
सिम्रौनगढ,नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पार्टीको नाममा एकआपसमा विवाद गर्न नहुने बताउनुभएको छ ।नेकपा एमालेले सिम्रौनगढको भगवानपुरमा आइतवार दिपावली तथा छठको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै नेता मैनालीले सो कुरा बताउनुभएको हो ।‘इच्छाअनुसार फरक फरक दलमा लाग्न पाइन्छ, उहाँले भन्नुभयो, यो नागरिकहरुको संवैधानिक अधिकार हो, तर देश विकासको लागि, शिक्षा र स्वास्थ्यको लागि समाज र जनताको हितको मनमुटाव गर्नुहुदैन, सबै एक ठाउँमा उभिनुपर्छ ।’ ‘चुनावमा भोट आफ्नो ईच्छा अनुसार हाल्नु, मन परेको उम्मेदवारलाई जिताउन प्रचार प्रसार गर्नु तर पार्टीको नाममा आपसमा लडाई झगडा भने कहिल्यै नगर्नु ।’ उहाँले भन्नुभयो । नेपालको वर्तमान संविधानले नागरिकको अधिकार र स्वतन्त्रताको प्रत्याभूति गरेको पनि बताउनुभएको छ । तर देश विकासको सवालमा भने सबै जनता एकै ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो ।शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधार विकासको व्यवस्थापन गर्ने विषयमा एक आफसमा समझदारी गरेर सर्वसम्मत नेतृत्व गरि अगाडि बढनुपर्ने उहाँको भनाई थियो ।नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा भएको यो कार्यक्रममा विशिष्ट अतिथिमा मधेस प्रदेश सभा सदस्य राजपती देबी जयसवाल, एमाले केन्द्रीय कमिटी सदस्य एवंम संविधान सभा सदस्य बलबीर चौधरी, एमाले प्रदेश मधेस प्रदेश कमिटी सदस्य ढुण्डीराज उप्रेती, लेखा समिति सदस्य केवल चौधरी, स्थानीय अगुवा प्रमानन्द मुखिया, सिम्रौनगढ नगरपालिका वडा नम्ब ११ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल नेकपा एकिकृत समाजवादीका रमेश पन्जाली, नेपाली काग्रेसका रामेश्वर मेहता लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।एमाले नेता सुरेश कुशवाहाले स्वागत गर्नुभएको यो कार्यक्रमको सन्चालन रामेश्वर यादवले गर्नुभएको थियो ।



















