निजगढ,निजगढ नगरपालिकाले निजगढको शहिद चोक र पुरानो हाट बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेलाहरुको व्यवस्थापन गर्न ठेला धनीहरुलाई २ दिनको समय दिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले आइतवार एउटा सूचना निकालेर मंगलवारभित्र पालिकाले तोकेको स्थानमा राखेर ठेला व्यवस्थापन गर्न व्यवसायीहरुसंग आग्रह गरेको हो ।

नगरपालिकाले शहीद चोकमा अव्यवस्थित रुपमा राखिएका ठेला वडा नम्बर ७ को शहिद चोकबाट नजिकै पूर्वतर्फ रहेको कुमार आचार्यको जग्गामा र बजार क्षेत्रका ठेलाहरुको हकमा वडा नम्बर ९ मा अवस्थित जमुना पैनी लच्काबाट शान्तिटोल जाने बाटोको पूर्वपट्टिको खाली जग्गामा राख्न व्यवसायीहरुसंग आग्रह गरेको हो । पसल व्यवसायको नाममा राजमार्ग छेउमा जथाभावी राखिएका ठेलाका कारण नगरको सुन्दरता बिग्रेको र सवारी साधन दुर्घटना जोखिमसमेत बढेको गुनासोपछि नगर कार्यपालिकाको कार्यालयको गत २२ गते बसेको बैठकको निर्णयानुसार कार्यालयले जग्गा भाडामा लिएर सहिद चोक र बजार क्षेत्रका ठेलाहरु व्यवस्थापन गर्न लागेको हो ।यसअघि पनि नगरपालिकाले ठेला व्यवस्थापन गर्न सम्बन्धित व्यवसायीहरुसंग पटकपटक आग्रह गर्दैआएको थियो ।

Leave a Reply