वीरगन्ज,चीन सरकारले अनुदानमा पठाएको कोरोना विरुद्धको खोप भेरोसेल, सरकारले मंगलबारदेखि देशभर लगाउने भने पनि पर्सा जिल्लामा भने जेठ २८ गतेदेखि मात्रै लगाइने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप मंगलबारबाट सातवटै प्रदेशमा लगाउन शुरु गरेको भएपनि पर्सा जिल्लामा भने जेठ २८ गतेदेखि मात्रै लगाइने भएको हो । सरकारले आवश्यक भन्दा कम खोप पठाएको र तयारी नपुगेको भन्दै पर्सामा जेठ २८ गतेदेखि मात्रै भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिनुभयो । खोप संचालनका लागि मंगलबार १४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुको सुक्ष्म बैठक राखिएको र बैठकपछि पूर्ण तयारीका साथ जेठ २८ गतेदेखि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो ।

पर्सामा ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको संख्या करिब १० हजार रहेकोमा सरकारले अहिले ४ हजार ८ सय डोज मात्रै खोप पठाएकोले सबैलाई खोप नपुग्ने हुँदा खोप संचालनमा चुनौति देखिएको उहाँले बताउनुभयो । तर पनि सबै तयारी पूरा गरेर पहिले आएकालाई प्राथामिकतामा राखेर खोप दिने तयारी गरिएको उहाँले बताउनुभयो ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र काठमाण्डौ बाहिरका जिल्लामा ६२ देखि ६४ बर्ष उमेर समुहलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । तर यो उमेर समूहमा ८ लाख जनसंख्या रहेकाले खोप पर्याप्त नहुने भएकाले उपत्यका बाहिरका जिल्लामा उमेर समूह घटाउनु परेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । उपत्यका बाहिरका जिल्लामा खोप लगाउँदा पहिलो प्राथमिकता ६४ वर्षकालाई र त्यसपछि खोपको उपलब्धताका आधारमा क्रमशः तल्लो उमेरकालाई दिनुपर्ने स्वास्थ्य सेवा विभागले सूचना जारी गरेको छ ।

चीनको तिब्बतसँग जोडिएका स्थानीय तहमा भने १८ वर्षमाथिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिमाली क्षेत्रमा पटक–पटक खोप पु¥याउन समस्या हुने भएकाले १८ वर्ष माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ । मन्त्रालयले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरेको छ । उमेर खुल्ने कागजपत्र नभएको खण्डमा वडा कार्यालयमार्फत सिफारिस बनाउनुपर्नेछ । यो खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले भने पहिलो डोज पनि लगाउन पाउनेछन् ।

उवासंघव्दारा एकलाख डोज माग

वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज क्षेत्रका उद्योगी व्यसायी, मजदुर र कर्मचारीका लागि तत्कालै १ लाख डोज कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन सरकारसंग माग गरेको छ । सोमबार वीरगन्ज उद्योग वाणिज्य संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्गलाई पत्रचार गरेर वीरगन्जको नीजी क्षेत्रलाई तत्काल १ लाख डोज खोप माग गरेको हो ।

वीरगन्ज– पथलैया औद्योगिक कोरिडोरमा साना ठुला गरि १ हजार उद्योग सन्चालनमा रहेको र ती उद्योगहरुमा उद्योगी, मजदुर, कर्मचारी गरि १ लाख भन्दा बढि जनशक्ति कार्यरत रहेको संघले जनाएको छ । त्यसकारण तत्काल १ लाख डोज खोप वीरगन्जको नीजी क्षेत्रका लागि उपलब्ध गराइ दिन वीरगन्ज उद्योग वाणिज्य संघले स्वास्थ्य मन्त्री तामाङ्गलाई पत्र नै लेखेर माग गरेको संघका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो । कोभिड महामारीको उच्च जोखीम बोहोदैै उद्योग कलकारखाना सन्चालन गरेर देशभर अत्यावश्यक वस्तुको आपुर्ति गरिरहेको भएपनि व्यवसायीहरुलाई सरकारको प्राथमिकतामा नराखेको गुनासो वीरगन्ज उद्योग वाणिज्य संघको छ । जसका कारण अहिलेसम्म पनि उद्योगी, मजदुर र कर्मचारीहरु कोभिड विरुद्धको खोपबाट बन्चित रहनु परेको संघले जनाएको छ ।

स्वास्थ्यविद्हरुले कोभिड संक्रमणको तेश्रो लहर पनि छिट्टै देखा पर्ने बताइरहेका कारण तेश्रो लहर आउनु पूर्व नै वीरगन्ज क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीलाई खोप लगाउन अपरिहार्य भएको अध्यक्ष गुप्ताले बताउनुभयो । यदि सरकारले तत्कालै खोप उपलब्ध नगराएमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका उद्योगहरु बन्द गर्नु पर्ने अवस्था आउने चेतावनी पनि वीरगन्ज वाणिज्य संघले दिएको छ । अध्यक्ष गुप्ताले यदि समयमै खोप पाउन सकिएन भने उद्योगी, कर्मचारी र मजदुरहरु उद्योगमा जान सक्ने अवस्था नरहने र बाध्य भएर उद्योग बन्द गर्नै पर्ने अवस्था आउने बताउनुभयो । अहिले पनि यस औद्योगिक कोरिडोरका उद्योगहरु ५० प्रतिशत क्षमतामा मात्रै सन्चालनमा रहेको उहाले बताउनुभयो । अब तेश्रो लहर पनि आउने संकेत देखिएकाले यदि तत्कालै खोप लगाउन पाइएन भने अहिले आधा क्षमतामा चलिरहेका उद्योगहरु पनि बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

Leave a Reply