कृष्ण मोहन साह

सेढवा – राष्ट्रिय वन संरक्षण नीति अन्तर्गत पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–२ मा अतिक्रमित करीब ३८ बिघा जग्गा कबुलियत वन बनाउने कुरामा सहमति जुटेको छ।

 

दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय वनको सो जग्गा स्थानीयवासीले अतिक्रमण गरेर विभिन्न बाली उब्जाउँदै आएका थिए। लामो समयदेखि राष्ट्रिय वनको अतिक्रमित जग्गा खाली गराउने विषयमा डिभिजन वन कार्यालय पर्सा असफल भएको थियो। स्थानीयवासीहरूले दुई दशकभन्दा लामो समयदेखि खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको क्षेत्र खाली नगर्ने अडान लिएको कारण अतिक्रमित जग्गा खाली हुन सकेको थिएन।

 

 

 

बुधवार नेपाली सेना, सशस्त्र, जनपद, वनरक्षक, निकुञ्ज कर्मचारी, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूले त्यहाँका बासिन्दासँग छलफल गरेर कबुलियत वन बनाउने कुरामा सहमति जुटाएको डिभिजन वन कार्यालय पर्सा बिरगंज विकास फाटका सहायक वन अधिकृत रियाज अहमद असारीले बताए।

 

 

 

उनले विभिन्न समयमा गरिएका प्रयासहरू सफल नभएपछि आज राष्ट्रिय वन संरक्षण नीति अन्तर्गत वनको दाबी रहने गरी स्थानीयवासीको भोग नमास्ने गरी कबुलियत वनमा सहमति जुटाएको बताए। उनले कबुलियत वनमा सहमति भएपछि आजदेखि तारबार र वृक्षरोपण कार्यक्रम शुरू गरिएको जानकारी गराएका छन्।

 

 

कबुलियत वन अन्तर्गत वनको सो अतिक्रमित क्षेत्रमा तारबार लगाउन पाइने, आलीहरूमा वृक्षरोपण गरिने र खाली जग्गामा पूर्ववत्रूपमा स्थानीयवासीले गर्दै आएको खेतीपातीलाई निरन्तरता दिने सहमति भएको छ। छलफलमा गापा उपाध्यक्ष उषा चौधरी, प्रस्तावित गादी माइ साझेदारी बन का संयोजक कृष्ण मोहन यादव सह संयोजक सहरूम राउत गद्दीलगायतले भूमिका निर्वाह गरेका थिए।

Leave a Reply