२ सय ४० वर्ष नेपालमा एकछत्र शासन गरेको राजतन्त्र समाप्त भएको नेपालमा धेरै वर्ष भएको छैन । २०६५ साल जेठ १५ बाट मात्रै यो देशमा गणतन्त्रको अभ्यास भएको हो ।नेपालमा गणतन्त्र आएको यो हिसावले धेरै भएको पनि छैन । दुई दशक हुँदैछ । दुई दशकमा नै गणतन्त्रमाथि प्रश्न उठाइएको छ । यो गणतन्त्र वास्तवमा संस्थागत हुन पाएको छैन र भइहाल्ने बेला पनि भएको छैन ।
नेपालमा गणतन्त्रमाथि वितृष्णा उठ्नुमा दुई कारण छन्, एक गणतन्त्रको पक्षपाती भनिएका दलहरु व्यक्तिगत स्वार्थमा बढी रमाउनु र दुई देशमा व्यप्त बेरोजगारी समस्या समाधान गर्न नसक्नु । संसारमा यत्ति थोरै समयमा गणतन्त्र संस्थागत भएको देशहरु निकै कम छन् ।
गणतन्त्रको विकल्प कतिपयले राजतन्त्र देखेको पनि हुनसक्छ तर यो संभव छैन । हुन त नेपालमा यसै हुन्छ भन्न सकिन्छ किनभने कयौं कुरा नेपाल भूराजनीतिमा पनि चल्ने गरेको छ तर गणतन्त्रको विकल्प भनेको गणतन्त्र नै हो । फरक यत्ति हो कि यसको प्रणाली परिवर्तन हुनुपर्दछ र यसले पनि यही खोजेको छ र यो परिवर्तन पनि हुन्छ ।
अहिले शीर्ष रहेका नेता र तिनका दलहरुको बर्हिगमनपछि फेरि जाने बाटो भनेको यही नै हो । ल अब राजतन्त्रको एकछिनका लागि कल्पना गरौं । कसलाई राजा मान्ने ? ज्ञानेन्द्र शाह सत्तामा रहेर परीक्षण भइसकेका पात्र हुन ।
छोरा पारशलाई समाजले नस्वीकार्ला अनि कसलाई देशको अभिभावक भनेर राजा बनाउने ? यो नेपालका लागि समस्या छ । फेरि ज्ञानेन्द्र शाहको शासनकाल पनि यही पुस्ताले हेरेको छ । ज्ञानेन्द्रको उदय कसरी भयो, उहाँको शासनकाल कस्तो रह्यो भन्ने कुरा यो पुस्तालाई स्पष्ट छ । त्यसैले उमेरले आठ दशक काटेका ज्ञानेन्द्र राजा हुँदैमा देशमा कायालपट हुन्छ वा देश अभिभावको अवस्थामा रहन्छ भनेर कल्पना गर्नु, प्रचार गर्नु भनेको राजतन्त्रको भूत नै हो । ज्ञानेन्द्र शाह देशले खोजेको पात्र होइन । दलहरु र उनका नेताले बद्मासी गरे भन्दैमा गणतन्त्रको विकल्प राजतन्त्र अनि ज्ञानेन्द्र शाह वा उहाँको परिवार को शासन अब नेपालमा संभव छैन ।















