निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कार्यालयमा हाजिरी गराउनुपर्ने माग राख्दै आएका नगरपालिकाका कार्यपालिका सदस्यहरुले नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा सोमवार तालबान्दी गरेका छन ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा थमैति भएर निजगढ आउनुभएका अधिकृत कार्कीलाई नगरप्रम्ुख पुरीले हाजिर नगराउने अडान लिएपछि विरोधमा कार्यपालिकाका बहुमत सदस्यहरुले नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गको कार्यकक्षमा ताला लगाएका हुन ।
तालाबन्दीपछि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले अधिकृत कार्कीलाई हाजिर गराउन माग राखेर गत साउन १७ गते मेयर पुरीलाई ज्ञापनपत्र बुझाएको भए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको बताउनुभयो । उहाँले प्रशासकीय अधिकृतको अभावमा निजगढ नगरपालिकामा विकास निर्माणको काम प्रभावित बनेको बताउनुभयो । वडा अध्यक्षहरुले प्रमुख पुरी र उपप्रमुख थिङ्गको कार्यकक्षमा ताला लगाउने निर्णयको पत्र कार्यालयका लेखा अधिकृत शिवप्रसाद देवकाटालाई बुझाएका थिए ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको साउन ११ गतेको निर्णयानुसार बाराको पचरौता नगरपालिकामा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत कार्की उक्त निर्णय उल्टाउदै फेरि निजगढमा नै फर्किन लागेपछि नगरपालिकामा विवाद उत्पन्न भएको हो । कार्कीको स्थानमा मकवानपुरको थाहा नगरपालिकाकाबाट सरुवा भएर निजगढ आउनुभएका हरिलाल पुरीले कार्यालयमा उपस्थित भएर हाजिरीसमेत गरिसक्नुभएको अवस्थामा मन्त्रालयले कार्कीलाई साउन १४ गते फेरि निजगढमा नै थमौति गरेको थियो । नगर प्रमुख पुरीले भने सरुवा भएर जानु भएका अधिकृत कार्कीलाई हाजिर गराउन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाउनु भएको छ ।
निजगढ नगरपालिका वडा अध्यक्ष घलानको नेतृत्वमा कार्यपालिका सदस्यहरु बिसन सापकोटा, स्र्वण लामा, ज्ञानबहादुर गोले, सहाइया गुरो, रामचन्द्र काटवाल, मंगले लोप्चन, राजन श्रेष्ठ,मिना चौरेल, फुलमाया लामा, मैयाकुमारी सुनुवार, मनबहादुर डासेली, मनमाया तामाङ्ग, पवित्र सुनुवार लगायत कार्यपालिका सदस्यहरु मेयर पुरी र उपमेयर थिङ्गको कार्यकक्षमा तालाबन्दी गर्न कार्यालयमा पुगेका थिए ।
निजगढ नगरपालिकाका १३ वडामध्ये नेकपा एमालेबाट नगर प्रमुख, उपप्रमुखसहित ५ वटा वडामा अध्यक्ष निर्वाचित भएका छन् भने आठ वटा वडामा अध्यक्षसहित बहुमत कार्यपालिका सदस्य गठबन्धन दलबाट निर्वाचित भएका छन । यसअघि पनि मन्त्रालयको सरुवा निर्णय ४ पटकसम्म उल्टाएर निजगढमा बस्दै आउनुभएका प्रमुख प्रशासकीय कार्कीको निजगढ मोहलाई लिएर स्थानीयले प्रश्न गर्दै आएका छन ।