रौतहट – रौतहटको गौर नगरपालिकामा कार्यरत करारका स्वीपरहरू तलब वृद्धि गर्न माग गर्दै हडतालमा उत्रिएपछि बिहीबारबाटनगर क्षेत्रमा नियमित रूपमा फोहोर उठाउने कार्य प्रभावित भएको छ । स्वीपरहरू हडतालमा गएपछि गौर नगरपालिकाका विभिन्न टोल तथा बजार क्षेत्रबाट दैनिक रूपमा संकलन हुने फोहोर आज उठ्न नसकेको गौर नगरपालिकाका नगर प्रमुख शम्भुु साहले बताउनु हो ।
तलब वृद्धि लगायतका माग राख्दै करारका स्वीपरहरूले काम रोकेका कारण नगरको सरसफाइ व्यवस्थापनमा समस्या देखिएको साहले जानकारी दिनुुभयो । नगरपालिकामा स्थायी दरबन्दीमा कार्यरत तीन जना स्वीपर फोहोर उठाउन तयार रहे पनि उनीहरूलाई समेत काम गर्न नदिइएको बताइएको छ ।
आन्दोलनका कारण नियमित फोहोर संकलन तथा व्यवस्थापन कार्य पूर्णरूपमा प्रभावित भएको जनाइएको छ । नगर क्षेत्रमा फोहोर थुप्रिँदा स्वास्थ्य तथा वातावरणमा समेत असर पर्न सक्ने भएकाले तत्काल समस्या समाधान गरी सरसफाइ सेवा नियमित गर्नुपर्ने स्थानीयको माग छ ।
सैबीच, गौर नगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापन नियमित नभएसम्म आफ्ना घर, पसल तथा व्यापारिक प्रतिष्ठानबाट निस्कने फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाल्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी सरसफाइ कायम राख्न सबै नगरवासीमा अनुरोध गरेको छ ।
















