निजगढ,सामाजिक संस्था युथ अफ निजगढले निजगढ नगरपालिकाको संरक्षकत्वमा होली पर्वको अवसरमा शनिवार प्रिहोली कन्सर्टसहित फुड फेस्टिबल र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।बिहान निजगढको शहिद चोकमा भएको रक्तदान कार्यक्रममा ४ महिलासहित ५३ जनाले रक्तदान गरेका थिए । निजगढ नगरपालिका वडा नम्बर ९ को सहयोगमा भएको सो रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भरतपुरको सहयोग रहेको थियो ।
निजगढ ७ स्थित विद्यासागर बोडिङ्ग स्कुलमा भएको खाना महोत्सवमा भने विद्यासागर बोडिङ्ग स्कुल, निजगढ ८ को गौरीशंकर मावि, निजगढ ५ को सार्वजनिक मावि, बागदेव, निजगढ ६ को गौरीशंकर मावि, सडकटोल, निजगढ ८ को बकैया ठाकुर मावि, खयरघारी र निजगढ ९ को होलीएन्जल्स बोडिङ्ग स्कुलका विद्यार्थीहरु सहमागी थिए । महोत्सवमा विद्यार्थीहरुले आफैले तयार पारेको खानाको स्टल राखिएको थियो ।
कन्सर्टमा चर्चित गायक राजेश पायल राईले छातीमा मेरो यो छोटो भोटा………. म त मर्छु कि क्या हो……., दर्शन नमस्ते……, मलाई पनि अग्रेजीमा बोल्न सिकाइ देउन्…… लगायत १ दर्जनभन्दा बढी गीत गाउनुभएको थियो ।
कार्यक्रममा निजगढका विभिन्न विद्यालयका छात्रछात्रा र स्थानीय कलाकारहरुलेसमेत प्रस्तुती दिएका थिए । युथ अफ निजगढका अध्यक्ष कमल पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले विद्यार्थीहरुको सीप र लगनशीलता बृद्धि गर्न नगरपालिकाका विद्यार्थीहरुको सहभागितामा नगरपालिकाले खाना महोत्सव आयोजना गरेको बताउनुभयो ।कार्यक्रममा निजगढ नगरपालिकका पूर्व नगर प्रमुख सुरेश खनाल, नेकपा एमाले निजगढका नगर उपाध्यक्ष भोला गौतमलगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्तगर्नुभएको थियो ।
















