निजगढ,बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर सेवा उपलब्ध गराउने भएको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम मार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिने योजना सुरु गरेको हो ।कार्यक्रम बारे जानकारी दिने उद्देश्यले बुधवार निजगढ नगरपालिका कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कार्यक्रम बारे जानकारी दिइएको थियो ।कार्यक्रममा ६८ वर्ष माथिका, गम्भीर रोग लागेर ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण उपचारको लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेकाहरु यो सेवाबाट लाभान्वित हुने बताइएको छ ।कार्यक्रमबारे जानकारी दिदै निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गरेर रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच तथा औषधि उपचारसमेत गर्ने जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रम संचालन भएपछि विरामीहरुको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत विरामीहरुलाई परामर्श सेवा, पोषण सेवा र स्वास्थ्य प्रबद्र्धधनको लागि सामुहिक सचेतना कार्यक्रम पनि संचालन गरिने उहाँले जानकारी दिनुभएको छ ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको अध्यक्षतमा भएको सो अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख सुरथ पुरीले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने बताउनुभयो । ‘विकासको पहिलो आधार भनेको स्वास्थ्य नै हो, उहाँले भन्नुभयो, जवसम्म नागरिकको स्वास्थ्य अवस्था सुदृढ हुदैन, तबसम्म देशको विकास हुनसक्दैन ।’नगर प्रमुख पुरीले जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दैआएको बताउदै लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम संचलन गरेको जानकारी दिनुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बारा प्रमुख रामनरेश यादवले स्वास्थ्य क्षेत्रमा निजगढ नगरपालिकाले अनुकरणीय कार्यको थालनी गरेको बताउनुभयो । ‘कार्यक्रम निक्कै उपयोगी छ, उहाँले भन्नुभयो, यसलाई प्रभावकारी रुपमा संचालन गर्न जरुरी छ ।’ उहाँले कार्यक्रम सफल पार्न आफ्नोतर्फबाट पनि सकेको सहयोग उपलब्ध गराउने सुनाउनुभयो ।कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर लामालगायतले कार्यक्रमको महत्व बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखाकी सृजना तिवारीले गर्नुभएको थियो ।




















