रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाले साविकमा झैँ आइतबार पनि विद्यालय सञ्चालन गर्ने गरी गरेको निर्णयप्रति स्थानीय शिक्षकहरूले आपत्ति जनाएका छन् । संघीय सरकार र स्थानीय सरकारको बाझिएको निर्णयका कारण शैक्षिक क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै सुबलाल भागवत माध्यमिक विद्यालय, सन्तपुरका शिक्षक कर्मचारीहरूले नगर कार्यपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय सरकारको मन्त्रीस्तरीय निर्णयले शैक्षिक सत्र २०८३ का लागि देशभरका सामुदायिक र संस्थागत विद्यालयहरूमा हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने घोषणा गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत सोही अनुसार परिपत्र जारी गरेको अवस्थामा चन्द्रपुर नगरपालिकाले गत जेठ ४ गते पुरानै व्यवस्था अनुसार आइतबार पनि विद्यालय खोल्ने सूचना प्रकाशित गरेपछि यो विवाद सुरु भएको हो ।
नगरपालिकाले आइतबार विद्यालय बन्द गर्दा विद्यार्थीहरूको सिकाई कार्यघण्टा घट्ने दाबी गरेको थियो । तर, आन्दोलित शिक्षकहरूले उक्त विश्लेषणलाई ‘सतही र तथ्य बाहिरको’ संज्ञा दिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार पूरा समय पठनपाठन गराउने, हिउँदे र बर्खे बिदामा १५ दिन कटौती गर्ने तथा परीक्षाकै दिन पनि पढाई सञ्चालन गरेर कार्यघण्टा सुनिश्चित गरिसकेको ज्ञापनपत्रमा उल्लेख छ ।
स्थानीय तहले संघीय सरकारको निर्णय विपरीत आफ्नै नीति लागू गर्दा शिक्षक र शैक्षिक संस्थाहरू मारमा परेको शिक्षकहरूको ठहर छ । यस निर्णयले शिक्षक कर्मचारीहरूको संचित बिदा प्रमाणीकरण र विद्यार्थीहरूको दिवाखाजा कार्यक्रम सञ्चालनमा समेत ठूलो प्राविधिक समस्या खडा गरेको बताइएको छ ।
“संघीय सरकारको निर्णयलाई चुनौती दिँदै सबै स्थानीय तहले आफ्नै नियम बनाउने हो भने राज्यको प्रशासनिक प्रणाली कहाँ रहन्छ ?“ भन्दै शिक्षकहरूले प्रश्न उठाएका छन् । दुई सरकारको नीतिगत चेपुवामा विद्यालयहरू परेकाले नगरपालिकाले आफ्नो निर्णय तत्काल सच्याएर शैक्षिक क्षेत्रमा व्याप्त अन्योलता हटाउन माग गरिएको छ ।



















