वीरगञ्ज,लामो समयको खडेरीपछिको बिहीवार भएको वर्षाले निजगढलगायत बारा जिल्लाका किसानलाई राहत महसुस गराएको छ ।करिव ६ महिनापछि परेको पानीले किसानको केराबाली, बर्षे तरकारी र मकैबालीमा राहत पु¥याएको हो । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार बिहान बारामा आठ दशमलव पाँच मिलीमिटर र पर्सामा मधेस प्रदेशकै सबैभन्दा बढी ७२ मिलीमिटर वर्षा भएको छ । बर्षाले किसानको खेतिपाती बालीनालीमा निक्कै उपयोगी भएको निजगढ ७ का वडा अध्यक्ष टेकबहादुर लामाले जानकारी दिनुभयो ।
त्यसैगरी सुख्खायाम बढेसंगै भएको वर्षाले वन डढेलो नियन्त्रणमा पनि मद्दत पुगेको निजगढ ५ स्थित जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयप्रसाद ढुङ्गानाले बताउनुभयो । सुख्खामौसम शुरु भएसंगै सामुदायिक वन समूहको जंगलमा समेत डढेलोको प्रकोप शुरु भएको नियन्त्रणको लागि निजगढका अधिकांश वन समूहका उपभोक्ताहरुले वन पहरा गर्दैआएका थिए । वनमा डढेलो लाग्न शुरु भएपछि उपभोक्ताहरुलाई परिचालन गरेर चैत्र महीनाको शुरुदेखि नै जंगलमा दैनिक गस्ति गर्दैआएको उहाँले जानकारी दिनुभयो । पानी परेपछि जंगलमा छिटफुट रुपमा देखिएको डढेलो पनि नियन्त्रणमा आएको र केही दिनको लागि गस्ति रोकिएको समूहका अध्यक्ष ढुङ्गानाको भनाई छ ।
त्यसैगरीे वर्षातको पानीले चैतेधानको लागि फाइदा पुगेको कोल्हबी ११ का रामकान्त चौधरीले बताउनुभयो । “खडेरीले सबै फसल सुक्न लागिसकेको थियो”, उहाँले भन्नुभयो, “वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।”पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैतेधान तथा मकैखेती सिजन सुरु भएको छ ।ढिलोगरी वर्षा भएपनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ ।


















