बसन्त लामा
सिंगौल,बाराको निजगढ नगरपालिकाको सिंगौलस्थित धनसार सिँचाइ उपभोक्ता संस्थाले निर्धारित समयमा सिँचाइको लागि पानीको पालो लगाउन नसक्दा स्थानीय किसानहरू समस्यामा परेका छन्।सुख्खा मौसम शुरु हुन लागेपछि फागुन महीनाको पहिलो साताबाट सिँचाइको लागि पानी उपलब्ध गराउनुपर्ने भए पनि यस वर्ष संस्थाले समयमै पालो लगाउन नसक्दा अधिकांंश किसानहरूले बाली लगाउन कठिनाइ बेहोर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
गत वर्ष धनसार सिँचाइ संस्थाले फागुन महीना लाग्नेबित्तिकै सिँचाइको पालो मिलाएको भए पनि यस वर्ष संस्थाको ढिलासुस्तीका कारण किसानहरूले खेतमा पानी लगाउने पालो पाउन सकेका छैनन । स्थानीय तहका तीनवटा निकायलाई पटक–पटक मौखिक तथा फोनमार्फत जानकारी गराउँदा पनि सम्बन्धित निकायहरूले समस्या समाधान गर्न चासो नदेखाएको किसानहरूको गुनासो छ।
सिँचाइका लागि पानीको अभाव हुँदा र पालो निर्धारण नहुँदा सिँचाइ कुलोको मुहानमा स्थानीय किसानहरुबीच भनाभन र झैझडा हुने गरेको छ । खेतमा सिँचाइ गर्ने पानीकै विवादले कहिलेकाँही उग्र रूप समेत लिने गरेको स्थानीय बासिन्दाले बताएका छन्।यो वर्ष हिउँदे वर्ष नहुँदा लामा समयदेखिको खडेरीका कारण धनसार खोलाको मुहानमा पानीको स्रोत घट्दै गएको छ। साथै, खोलामा भइरहेको उत्खनन् तथा चुरे क्षेत्रको संरक्षण अभावले पनि नदीमा पानीको मात्रा थप कम हुँदै गएको स्थानीयको भनाई छ ।

















